हरियो बस : एक ट्रयाजेडी

-लक्ष्मी रुम्बा

चुनावी तापले सहर बाफिएको छ । गाउँको काँधमा त बुर्कुसी मार्दै होला चुनावी चटारो । आश्वासनको भद्दा गीत घन्काइरहेछ- चुनावी बजार । गठबन्धनको अमूर्त कोलाजले नेपाली राजनीति गर्माएको छ, हिउँदमा पनि । नेताको बोलीमा जनताको साझा सपना झुन्डिने मौसम हो यो । यस्तो लाग्छ, सहरको गलामा मौसमी लयको बेसुरा धुन गुञ्जिरहेछ ।

सहरी गञ्जागोलबाट उम्किएर अतीतका घुमाउरा गल्लीमा दौडिरहँ भन्छ, मन । समयको हाँगाहाँगामा अनुभूतिका मि िश्रत रङ पोतेर सहर चलायमान छ । मेलम्ची प्यास बोकेर वर्षौंदेखि धुलाम्य छ- सहर । तर, वर्तमानको धूलोले नोस्ताल्जियाका सुदूर याद छोपिँदैन । मनको एक कुनोमा जीवित रहन्छ सधैं यादको पुरानो हिस्सा । यादको यो बाटो तन्किएर त्रिशूली बजारसम्म पुगेको छ । सँगै सम्झनाका कल्र्याङ्कुर्लुङ् धागाहरू गाँसिएका छन् ।

सहरिया आकाशमा मनको सिमल बेपत्तासँग उडिरहन्छ अचेल । समयको पोल्टामा यादका बांगाटिंगा धर्साहरू छन् । जीवनको परेडमा झुत्तिएका सपनाहरू बाटो बिराएका यात्रीझैं अल्मलिएका छन् । सत्य हो, पीडाको जेब्राक्रसबाट सधैं अघि बढ्छ जीवन । तर, म छुटेको छु- यतैकतै बिछोडको भँगालोमा । जब जीवनका तमाम सत्यहरूबाट अनकन्टार बाटोमा मेरी आमाले एउटा यात्रा तय गरिन्, बल्ल बुझ्दैछु, आमा नहुनु संसार रित्तिनु रहेछ । पीडाको सीमाहीन फैलावटमा सहरको छातीभरि म क्रमशः साँघुरिँदैछु ।

मनको पर्दाभरि घुमिरहन्छ- त्रिशूली गल्र्स होस्टलका चित्रमय दिनहरू । त्रिशूलीको किनारमा फूलबुट्टे फ्रकमा छुनुमुनु गर्दै दौडिने केटीको चञ्चलता । छायाजस्तै आमाको अघिपछि कुदिरहने फुच्ची केटीको कलिलो उत्सुकता । कपुरको ठूलो चौतारोमा बसेर कालुमान बाजेको न्यारेसनमा सुनेका भूतका भयंकर कथा । पुतलीको बिहेमा भिजेका आँखाको छेउकुना । पोस्टकार्डमा पहिलोपल्ट पाएको कसैको प्रेमिल शब्दसँगै आत्तिएको काँचोे मन । छुटेर गए, समयको भूगोलबाट ती सबै सूक्ष्म स्मृतिरेखीहरू । जीवन त यसरी नै सम्झनाको देउरालीबाट हाम्फाल्दै कता हो कता दौडिरहन्छ।

जबजब सहरमा आँखाअघि हरियो साझा बस गुड्छ । म पूरै पहेँलिन्छु । स्मृ तिको एक हूल पदचाप मेरा कानको छेउ भएर दौडिन्छ । रसिलो आँखामा एउटा धमिलो दृश्य प्रतिबिम्बित हुन्छ- आमा आउने दिन त्रिशूली बजारको पुछारमा फुर्किंदै कुरिरहेकी फुच्ची केटीको टिठलाग्दो अनुहार ।

वर्षौंपछि सहरमा साझा बस झुल्किएको छ । जसरी हराउँदै झुल्किने गर्छन् कतिपय अनुहार यो सहरमा । हरियो रङको यो बसले मेरो मनमा जहिल्यै दिन्छ, हरियै तरङ । यसको बदलिँदो आवरणमा समयको थुप्रै रङ पोतिएको छ । नबदलिनु हो भने जीवनको स्टेसन कस्तो हुँदो हो- छुटेको यात्रीजस्तोे । साझा बसको अनुहार कुनैबेला सडकबाट हराउँदा म खिस्रिक्क परेकी थिएँ । मेरो लागि मात्र बस नभएर यादको दरिलो हिस्सा हो यो । निर्जीव वस्तुले पनि कतिकति सजीव आत्मीयता छाड्दोरहेछ जीवनमा । साझा बसको गन्थन मलाई पुराना दिनतर्फ धकेलिरहन्छ ।

नुवाकोट जिल्लाकै पुरानो स्कुल- त्रिशूली हाइस्कुल । मेरी आमा शिक्षिका साथै होस्टेल वार्डेन पनि । यही सानो परिधि- मेरो सिंगो संसार । म फुच्ची केटी होस्टलदेखि स्कुलसम्म उनलाई पछ्याइरहन्छु । एउटा चञ्चले समय कुदिरहन्छ मभित्र । हाइस्कुलका चौरमा लज्जावती झारलाई जिस्क्याउँदै हिँड्छु । बादल हेर्दै अनेक अड्कलबाजी गरिदिन्छु । भैरङकोट र वनदेवीका डाँडाभन्दा पर पर भाग्न मन लाग्छ । रसुवा, नुवाकोट र धादिङतिरका दिदीहरूले लुकेर सिंगार्दिन्छन्, होस्टलमा । म यस्सै मक्ख पर्छु । आमाको आँखा छल्दै साथीहरूसँग अनेक उपद्रो गर्न खप्पिस हुन्छु । मेरा दुई दाइहरूसँग त अटेर भइदिन्छु । तर आमाको खबरदारी र नियन्त्रणले म घरी घरी खुम्चिन्छु ।

आमा बेलाबेला मलाई छल्दै काठमाडौं जान्थिन् । छिटो पुर्‍याउँछ भनेर साझा बस चढ्थिन् । मलाई फुल्याउन हजुरआमाले ठूलै बहाना गर्नुपर्थ्यो । धेरै चोटिको झुक्याइपछि एकदिन उनले लाने भइन् काठमाडौं । जाने अघिल्लो दिन फुर्केरै निद्रा परेन । अब मेरो साझा बससँगको कथा सुरु हुन्छ ।

आमासँगै म पहिलोचोटी चढेँ साझा बस । लागेथ्यो चढ्नेबित्तिकै आउँछ काठमाडैाँ । त्रिशूलीको नागबेली बाटो भएर साझा बस मेरो अधैर्य बोकेर हिँडिरह्यो । हैरान बनाएँ आमालाई । बस चढेको केही छिनमै प्रश्नका फोहोरा बर्साएर- आमा काठमाडौं कहिले आउँछ ? भोक तिर्खा लागेन ।

पेटको रहलपहल पनि फालिदिएँ । पूरापूर तीन घन्टापछि आइपुग्यो काठमाडौं । यदि जुनीले समयको लम्बाइ बताउने भए त्यो तीन घन्टा तीन जुनीझै लाग्यो । साझा बसबाट आमाको औंला समाएर पहिलोचोटी म सहरको बिराट रूपसँग मिसिएँ । काठमाडौंको झिलिमिलिमा मेरा आँखीभौं उचालिएको उचालियै भयो ।

कति खप्पिस हुन्छन् आमाहरू पीडा लुकाएर हिँडिरहन । मौनताको दैलोभित्र सन्तानको खुसी बटुलिरहन । आमा मुटु जँचाउन पो आउँदिरैछिन् वीर अस्पतालमा । अहिले सम्झिँदा लाग्छ सिंगो अस्पतालकै पीडा थियो उनमा र सबै सम्हाल्न सक्ने २१ ग्रामको रोगी मुटु । उनी मनभरि आँधी बोकेर हिँडिरहेकी थिइन् । म यस्सै यस्सै दंग थिए । चेतनाको परिपक्वताले नै दुःखी बनाउने रैछ मान्छेलाई । म फुच्चीलाई त के थियो र आँखाभरि काठमाडौं झुन्ड्याएर हिँडिरहे । आमाको हात समातेर हिँड्दा ठूलै युद्ध जितेझै लागिरहेथ्यो सायद ।

यति ठूलो सहरको आँखीझ्यालमा बसेर सोच्दा त्रिशूली बजार त साँघुरो कोठाजस्तो पो रहेछ । सहरको भीडमा आमालाई बेस्कन अँठ्याएर हिँडिरहे । मलाई भने फर्केर सहर घुमेको फुर्ती लाउनु हतार भइसकेथ्यो, साथीहरू र होस्टलका दिदीहरूलाई । आमाले भोटाहिटीमा पुतली किनिदिएकी थिइन् । टालाटुली पुतलीको ठाउँ अब यो नयाँ पुतलीले लिनेवाला थियो ।

त्रिशूली फर्किएपछि धेरै दिनसम्म काठमाडौं झल्को आइरह्यो । मेरो चकचके दुनियाँका पात्रहरूमाझ केही दिन चर्चा चल्यो । मुटु रोगी आमाको काठमाडौं जानेआउने क्रम चलिरह्यो । हरेक पटक आमा फर्किने दिन त्रिशूली बसपार्कमा घन्टौं कुरिरहन्थे । जब ओर्लिन्थिन् उनी साझा बसबाट, मभित्र खुसीको तरङ दौडिन्थ्यो । आमा आएको दिन भुइँमा खुट्टा हुन्थेन । आमासँग लुट्पुटिएर म डल्लो परिरहन्थे ।

आमाको कठोर अनुशासन मेरा कतिपय रहरहरूमा अंकुश लाउँछन् । होस्टेलका छात्राहरूको नियममा मलाई हिँडाउँथिन् उनी । बोयज होस्टेलतर्फ त छड्के आँखा लाउने हिम्मत कहिल्यै जुटेन ममा । आमाको आँखा त जहीँतहीँ मसँगै झुन्डिरहेझै लाग्थ्यो । धन्न मावि शिक्षिका हुनाले कक्षामा पछि मात्रै भेटेँ उनलाई । उनको आदर्श व्यक्तित्व अघि म यसैयसै गल्थेँ ।

दिनभर स्कुलको थकानपछि साँझपख आमा मलाई लिएर तरकारी बजार जान्थिन् । तरकारीमा एक दुई रुपैयाँ घट्दा आमाको अनुहारमा गज्जबको खुसी भेट्थेँ । सायद हजुरआमाहरू यस्तै सानातिना छुटमा भेट्दा हुन् जीवनका खुद्रा खुसीहरू । डिस्काउन्टमा त उनीहरूलाई सिंगो परिवारको अभिभारा मिलेको छ ।

यादहरूको मसिनो फेरो समाएर म यो सहरमा गरुँगो पाइला सारिरहेछु । बाटोभरि आमा मसँगै हिँडिरहन्छिन् । लाग्दैन, आमा कतै टाढा गएकी छिन् । छिनछिनमै मन अमिलो भएर कँडिन्छ । फेरि कुद्छु अतीततिर- सानैदेखि मलाई छाकैपिच्छे आलु चाहिन्थ्यो । एकदिन आमाले रसुवाको थाक्सेसँग बिहे गरेर पठाउँछु अनि खानु आलु भन्दा म बेस्कन रोएकी थिएँ । मलाई थाहा थियो बिहे गरेपछि आमासँग बस्न पाइन्न ।

एकदिन आमा फेरि जाने भइन् काठमाडौं । तर घरमा पहिलाको भन्दा अलि बढी तयारी भइरहेथ्यो लुगापोकाहरूको । आमाको फुपू परामालाई हामीकहाँ राखेर हजुरआमासगै उनी साझा बस चढिन् । यो पटक मलाई अँगालेर आमा बेस्सरी रोइन् छुट्टिनेबेला । मैले बुझिनँ, उनको रसिलो आँखामा मडारिएका विषादका ज्वालामुखी । न्यानो घामबिना हिउँदका उदासउदास दिनहरू बिते । त्रिशूलीको धूमिल आकाशमा मेरो चञ्चलता बिलायो । यो पटक आमा छिटो आइनन् । उल्टै हामीलाई बोलाइयो।

म परामासँगै काठमाडौं आए । वीर अस्पतालको शैय्यामा पल्टिरहेकी थिइन् उनी । मलाई देख्नेबित्तिकै उनको आँखाबाट त्रिशूली बर्स्यो । नजिक आउन इशारा गरिन् । उठ्न सकिनन् । मलाई समातेर धेरैबेर रोइन् । मसिनो स्वरमा मलाई ‘आमा’ भन्न लगाइन् । आमाको मायालु आदेश पछ्याउथेँ म । उनी भन्थिन्, हजुर । त्यो पल यो संवाद दोहोर्‍याउन लगाइरहिन् । आमासँग टास्सिएर मैले धेरै दिनको न्यास्रो साटे । त्यो बेला नेपालमा मुटुको अप्रेसन नहुँदोरैछ । अस्ट्रेलियन टोलीको सूचीमा परेर आमासहित ११ जनाको अप्रेसन भएको रहेछ । जसमध्ये दुई जना बितेछन् ।

एकजनाको बोली नै हराएछ । त्यही टोलीले अस्ट्रेलिया लेखेको सानो पान्डा खेलौना दिए मलाई । आमाछेउ रहेको फोक्सोको व्यायाम गर्ने कुरो कसोकसो फुक्न भ्याएँ । रोगको पञ्जाबाट घाइते आमा मलाई एकटक हेरिरहेकी थिइन् । सन्तानको उपस्थितिमा आमाहरू कति सजिलै भुलिदिन्छन् पीडाको गहिरो घाउ ।

महिनौको अस्पताल बास सकाएर त्रिशूली आइन् उनी । उनको ‘ओपन हार्ट सर्जरी’ भएको थियो । छाती सीधै चिरिएको थियो । म अचम्म पर्थें । कसरी हड्डीसहित चिरे होलान् आमालाई । आमा बिस्तारै तंग्रिइन् । यसपछि त समयको वज्रपात ओइरियो उनीमाथि । उनले मृत्युलाई त जसोतसो पाखा लगाइन् । तर, नयाँ घरजमको संसार रचेर जीवनसाथी आफैं पाखा लागे । पीपलपाते सम्बन्धबाट बैरागिएर उनी एक्लैले जिम्मा लिइन् हामी तीन सन्तानको ।

कसैले बनाएको बाटोमा हिँडिनन् । फेरि फर्केर हेरिनन् जुन बाटो छुटेर गए पैतालाबाट । जीवनको कठिन निर्णयमा पनि उनको आँखामा एउटा उत्साह जीवित थियो । हामीलाई केही अभाव महसुस हुन्छ तर बिर्सिन्छौ बिस्तारै । समय यस्तो चिज हो, जो हर दुःख बिर्साउन सघाउँछ । दुःखको प्रकार धेर भए पनि आयु कमै हुन्छ जस्तो लाग्छ । र, त नयाँ दुःखमा हामी पुरानो दुःखको आकार बिर्सिन्छौ ।

हरियो बस : एक ट्रयाजेडी

जीवनको उवडखावडमा आमा मनको खण्डित भागलाई जतनसँग छोपेर राख्छिन् । उनको विशाल मौनतामा अटाउँछन् हाम्रा भुरा-खुसी । प्रेम, सम्बन्धको नाममा कति स्वास्नीमान्छे सम्झौतामा बाँचिदिन्छन्, औपचारिकतामा हाँसिदिन्छन् । रोगले थङ्थिलो भएकी मेरी आमा यो कुरामा दरिलो हुन्छिन् । सम्बन्धको दुःख सबैभन्दा ठूलो दुःख, उनको आँखाको खोल्सी रसाउँछन् । तर उनी सक्दो लुकाउँछिन् आफूलाई । थाहा छैन, पीडाको कुन गहिराइमा पुगेर उनी कता भक्कानिन्छिन् ।

सायद राति पो रुन्थिन् कि ? आमाहरू आफ्नो ओसिलो आँखामा छरिन आइपुगेका पीडाका, अभावका बीउहरूलाई लुकाउँदै उमार्छन् आफूभित्रै र हुर्काउँछन् सन्तानका सपनाहरू ।

एकदिन मितिनी आमाको घरबाट हाम्रो घर कमली नाउँको गाई आइपुग्छ, साथमा गोपाल नामको बाच्छो पनि । यो बाच्छो निकै प्यारो लाग्छ । म गोठछेउ गइरहन्छु । ऊ मलाई चाट्न थाल्छ । म भने उसको खस्रो जिब्रो समात्न दाउ हेरेर बसिरहन्छु ।

तामाङ समुदायमा छोरीचेलीलाई पेवा दिने चलनअनुसार आमा मलाई बाच्छो पेवा दिन्छिन् । एक दिन गोपाललाई तीन हजारमा बेचिदिइछन् आमाले । स्कुलबाट घर फर्किंदा म ठुस्स परेकी थिएँ । तीन हजार जम्मा भयो, राष्ट्रिय वाणिज्य बैंकमा । नयाँ खाता- मेरो नाममा । तर, त्यो नाबालिकालाई खाताभन्दा प्यारो थियो, गोपालको जिब्रो ।

आमा सीमान्त दुःख लुकाएर हामीलाई डोर्‍याइरहन्छिन् । समयको लुकामारीमा साझा बस हराउँछ । हाम्रा चञ्चले समय बिलाउँछ कतै । त्रिशूलीको सानो तर न्यानो काख छोडेर हामी सहर पस्छौ । शैक्षिक सेवाको ३८ वर्षपछि सबैको प्रिय जानुका मिसले जिल्लामै विशेष सम्मानका साथ अवकाश पाउँछिन् । तामाङ समुदायकी एक चेली- संघर्षको खुड्किला चढ्दै जिल्लामै पहिलोपल्ट एसएलसी पास गर्ने महिला र पहिलो शिक्षिका मेरी आमाको औपचारिक दैनिकीले विश्राम लिन्छ । स्कुलको मूल ढोकाबाट बाहिरिँदा लाग्यो- हामी घर छोडेर परदेश जाँदैछौ । स्कुल-होस्टेलका एक एक कुइँनेटाले पनि बिछोडको पीडा भोग्यो कि ?

यतिबेला सम्झनाको रिमोर्ट कन्ट्रोल छ हातमा । म घरी अगाडि फर्किन्छु घरी पछाडि । सहरको चुनावी होहल्लाबाट म यादहरूको सुरुंग पसिरहेको छु । स्थानीय निर्वाचनमा आमालाई आफैंले डोर्‍याएर लगेकी थिए भोट हाल्न । तर, यो चुनावमा आमा रहिनन् । मात्र रह्यो उनी नहुनुको खल्लो गुञ्जायस ।

घाइते समय छट्पटिँदै ओहोरदोहोर गरिरहेछ- पोहोर साल पहिलो ब्रेन स्ट्रोकलाई जितेकी आमा यतिबेला हस्पिटलको चौधौ तल्लामा अचेत संघर्षमा छिन् । आईसीयूको बेड नम्बर ११ मा एउटा सन्नाटा लम्पसार छ । सँगै खाना खाएर छुटेको आमालाई फेरि ब्रेन स्ट्रोकले अठ्याएको छ । अत्तालिँदै म घरीघरी आशाको ढोका चियाउन पुग्छु । आमाको श्वास भेन्टिलेटरसँग साटिएको छ ।

जीवनको हरनिर्णयमा जब्बर मेरी आमालाई निरीह पाउँछु । मेरो समयको चाल ठप्प भएको छ ।

विश्वास छ मलाई- उनले जित्नेछिन् मृत्युसँगको अन्तिम युद्ध । मलाई एक्लो छाडेर जीवनको ढोका थुन्ने छैनन् उनी । तर थोपाथोपामा उनको जीवनको गाग्री चुहिँदै थियो । अन्ततः समयले जित्यो र म हारेँ ।

स्वयम्भू धुर्सामा आफन्तहरू, उनका विद्यार्थीको भीड छ । समयलाई चपक्कै समातेर रोकौ, उनी उठी पो हाल्छिन् कि जस्तो लागिरह्यो । सत्यको अस्वीकार्य रङ जबर्जस्त मेरो नसानसामा घुलिन्छ । आमाको चितामा बलेको आगो त त्यही दिन निभ्यो । तर स्मृतिको धुवाँमा रङ्मगिएर आँखा पीरो भइरहन्छ ।

सानोमा बिरामी पर्दा हजुरआमा सातो बोलाउँथिन् । आमा गएपछि यो सहरमा सातो हराएको मान्छेजस्तै भएकी छु । साझा बसका चिप्ला सिटहरूजस्तै चिप्लिरहेछु पीडाका किनारामा । पूरापूर चोइटिएको छु, उही बान्द्रेको पहिरोग्रस्त भित्तोजस्तै ।

बेलाबेला सपनाको ढोका ढक्ढक्याइरहन्छिन् आमा । एकचोटि सपनाको यात्रामा थियौं हामी । बिहानीपख घडीको अलार्मले विपनाको पर्दा उघार्‍यो । त्यो बिहान सपनाको बेस्सरी लोभ लाग्यो । थक्थक् लागिरह्यो सपनाको लम्बाइदेखि । त्यो सपना सत्यको छाया नै थियो । त्यसयता अलार्म राख्न छोडेको छु ।

हामीले सँगै मिलेर बनाएको मस्यौरा, गुन्द्रुक, मुलाको चाना अझै बाँकी छ । आमाले रोपेको गोदावरी हाँसिरहेछ । गमलामाथि न्यानो सम्झना झांगिएको छ । घरका प्रत्येक सामान उनले भर्खरै सुम्सुम्याएझै लाग्छ । उनले लाउँछु भनी साँचेका लुगाहरू छन् । यो धर्तीमा साबिककै हावा चलेको छ, घाम लागेको छ उस्तै । समय त कोल्टे फेरिरहन्छ तर हरपल आमा मसँगै छिन् ।

आमाको मसिनो आवाजले पलपल पछ्याइरहन्छ । सहर त साँघुरो मनहरूको गल्ली रहेछ, धीत मर्नेगरी रुने ठाउँ पनि भेटिन्न यहाँ । मन कतै अडिँदैन । होसको दुनियाँभन्दा परपर हुत्तिन्छु र चेतनाशून्य हुन्छु । कहिले नपुरिने गहिरो खाडल छ मनमा । सहरको कोलाहलमा मभित्र एउटा सन्नाटा फिजारिएको छ । मेरो जीवनको मियो ढलेको छ । वर्तमानसँग सम्बन्ध टुटेको छ । म अतीतको कुनाकाप्चा कुदिरहेछु ।

जबजब सहरमा आँखा अघि हरियो साझा बस गुड्छ । म पूरै पहेँलिन्छु । स्मृपतिको एक हूल पदचाप मेरा कानको छेउ भएर दौडिन्छ । रसिलो आँखामा एउटा धमिलो दृश्य प्रतिबिम्बित हुन्छ- आमा आउने दिन त्रिशूली बजारको पुछारमा फुर्किंदै कुरिरहेकी फुच्ची केटीको टिठलाग्दो अनुहार ।

मृत्युको छिर्के दाउ छल्दै मेरो जीवनको पहेँलो बस गुडिरहेछ । ऊर्जाको हरियो बस हराइगयो मेरो राजमार्गबाट । समयको यो प्रतीक्षालयमा कसलाई पर्खिरहेछु म ? के जीवनको सुनौलो संस्करण हुन्छ ? आमा, तिमीसँग मेरो भेट फेरि होला ?