नदीमा चर्पीको ढल मिसाइदा खुला दिसामुक्त घोषणा प्रभावित – अध्यक्ष तामाङ

नुवाकोटलाई असोज भित्रै खुला दिसामुक्त जिल्ला घोषणा गर्ने योजना सफल नहुने देखिएको छ । दश गाउँपालिका र २ नगरपालिकालाई असोज ११ गतेभित्रै खुला दिसामुक्त घोषणा गरिसक्ने गरी नुवाकोटका वास एजेन्सीहरुले बनाएको योजना मुताविक काम हुन नसकेपछि जिल्लालाई नै खुला दिसामुक्त गर्ने योजना प्रभावित हुने भएको हो । असोज महिना सकिन १० दिन मात्र बाँकी हुँदा नुवाकोटका १२ स्थानीय तह मध्ये धेरैजसो तह खुला दिसामुक्त घोषणा हुन बाँकी छ । यसै विषयमा हामीले योजना अनुसार काम हुन नसक्नुका कारण, आगामी योजना र खुला दिसामुक्त घोषणा गर्न आइपरेका चुनौती लगायतका विषयमा जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) का अध्यक्ष सन्तमान तामाङसँग कुराकानी गरेका छौं । 

आफैले बनाएको कार्ययोजना पनि कार्यान्वयन गर्न सक्नु भएन नि, किन ?

हो, हामीले कार्ययोजना बनाएरै काम गरिरहेका हौं । दशै तथा तिहार लगायतका चाडबाड यही बेला प-यो, देशले यही समयमा प्रदेश सभा र संघीय संसदको चुनावको घोषणा ग-यो, बर्षामास, अनि खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका तहगत संरचनामा नयाँ पदाधिकारीको चयन लगायतले पनि कार्ययोजना बमोजिम काम गर्न नसकेको निष्कर्षमा पुगेका छौं ।

जिल्लादेखि वडा तहसम्म खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समितिको संरचना छ, थुप्रै गैरसरकारी संस्थाहरु पनि क्रियाशील छन्, उनीहरु के गरिरहेका छन् त ?

हामीले कार्ययोजना मात्र बनाएका छैनौं कि सम्बन्धित वडा, गाउँपालिका, नगरपालिका खुलादिसामुक्त अवस्थामा पु-याउने र घोषणा गर्ने गरी कार्य बाँडफाँट पनि गरेका छौं । त्यही अनुसार सबै आ–आफ्नै क्षेत्रमा सरसफाइ अभियानमै क्रियाशील हुनुहुन्छ । सबैको ध्यान कसरी चर्पी बनाउन लगाउने र प्रयोग गर्न लगाउने भन्नेमै केन्द्रित छ । हामी असोजभित्र नभएपनि नोभेम्बर भित्र सम्पन्न गर्ने गरी काम गरिरहेका छौं ।

इच्छा मात्र हो कि साँच्चिकै खुलादिसामुक्त घोषणा गर्ने गरी काम भइरहेको छ ?

हाम्रो सबै शक्ति यसैमा केन्द्रित छ । नगरपालिका गाउँपालिका र वडाहरुलाई खुला दिसामुक्त गर्न सम्बन्धित सबै पदाधिकारी परिचालित हुन परिपत्र गरिसकेका छौं । सन् २०१७ भित्र देशलाई नै खुलादिसामुक्त गर्ने लक्ष्य पूरा गर्न हाम्रो तहबाट हामी लागिरहेकै छौं । चाडपर्व, पुनःनिर्माण, चुनाव लगायत राष्ट्रिय पर्व यही बेला परेपनि कर्मचारी मित्रहरुलाई राष्ट्रिय लक्ष्यमा समाहित हुन आग्रह गरिसकेका छौं । मलाई लाग्छ हाम्रो यो सामूहिक प्रयासले असम्भवलाई पनि सम्भव तुल्याउनेछ ।

खुला दिसामुक्त गर्न नगरमा सजिलो कि गाउँमा सजिलो रहेछ ?

गाउँपालिकामा भन्दा अलि मुश्किल नगरमै लाग्यो । गाउँपालिकामा चर्पी छ तर सेफ्टी ट्याङ्कको समस्या छैन, तर नगरमा चर्पी भएपनि सेफ्टी ट्याङ्कको धेरै समस्या छ । त्रिशुली बजारमै हेरौं, स्थानीय बासिन्दाहरुले एक आना वा दुई आना जग्गामा घर बनाएका छन् । सेफ्टी ट्याङ्क बनाउने जग्गा नभएपछि त्रिशुली नदीमा दिसा गइरहेको छ । अब यस्तो अवस्थालाई खुला दिसामुक्त नगर भन्न मिल्ने वा नमिल्ने ? हाम्रो बुझाई भनेको खुलादिसामुक्त नगरमा चर्पीको ढल खोलामा मिसिन हुन्न भन्ने हो ।

नदीमा चर्पीको ढल मिसाउनेहरुका लागि समाधानको उपाय के हुन सक्छ त ?

त्रिशुली नदीमा ढुंगे बजार र त्रिशुली बजारका गरी झण्डै १५० घरको ढल मिसिएको अनुमान गरेको छु । यस विषयमा बेला बेलामा विदुर नगरपालिकाका मेयर सहित स्थानीय बासिन्दासँग छलफल भइसकेको छ ।

यसमा युनिसेफले पनि चासो देखाएको छ । कम्युनिटी सेफ्टी ट्याङ्क बनाउने वा घरभित्रै भ-याङमुनि भएपनि सेफ्टी ट्याङ्क बनाउने भन्ने छलफल भएको छ, तर निष्कर्षमा पुगेका छैनौं यसैको गृहकार्यमा लागिरहेका छौं ।

यी बाहेक नुवाकोटलाई खुला दिसामुक्त घोषणा गर्न के छन् त चुनौतीहरु ?

काम गर्दै जाँदा चुनौतीहरु पनि थपिदै जाँदो रहेछ । पहिलो आवश्यकता सार्वजनिक स्थल, बसपार्क, बजार क्षेत्र, जहाँ धेरै मानिसहरु ओहोरदोहोर हुन्छन्, त्यस्ता ठाउँमा सार्वजनिक शौचालय बनाउनुपर्छ । अव्यवस्थित बसोबास पनि अर्को चुनौतीका रुपमा खडा भएको छ । व्यवस्थित बस्ती नभएकाले सबैको घरमा शौचालय छैन ।

कतिपय ठाउँमा बनाउने ठाउँ समेत छैन । त्यस्ता अव्यवस्थित वस्तीमा सामूहिक चर्पी बनाउने हो कि ? यी यावत विषयमा सरोकारवाला पक्षसँग निरन्तर सम्वाद र अन्तरक्रिया भइरहेकै छ । आशा छ हामी जस्तो सुकै चुनौती छिचोलेर भएपनि राष्ट्रले राखेको लक्ष्य पूरा गर्न सफल हुनेछौं । -सम्पन्न सञ्चार