सहकारिताको बढ्दो आवश्यकता

-भविश्वर घिमिरे

सहकारिताको अर्थ

बोलीचालीमास् बसाइँ, काम र चिन्तनको मिलिजुली ।

लेखापढीमा: व्यवसाय गर्ने विशेष विधि, मानवीय मूल्यको व्यवसाय, आफ्नै लागि व्यवसायमा सर्वसाधारण, सहकारी संस्थाहरूको सामाजिक सर्तमा व्यवसाय गर्दछन् ।

भावनामा: सङ्गठनबाट प्रभावकारी पारिएको स्वावलम्बन सहकारिता हो ।

पारस्परिकता: सक्ता दिने पर्दा लिने ‘आपस’ नै पारस्परिकता हो । नयाँ सहकारितामा साझा सामथ्र्यमा पुग्ने दृष्टि राखेर आपसी मद्दतमा प्रारम्भ हुन्छ ।

सूत्रमा: सहकारिता = स्वाबलम्बन + पारस्परिकता, यसर्थ सहकारिता भनेको स्वावलम्बनको पारस्परिक अभ्यास हो ।

प्रजातान्त्रिक रूपमा नियन्त्रित अनि संयुक्त स्वामित्व सहितको उद्यममार्फत आ–आफ्ना साझा आर्थिक, सामाजिक तथा सांस्कृतिक आवश्यकता एवम् आकांक्षालाई पूरा गर्न भनी स्वैच्छिकरूपले संगठित भएका व्यक्तिहरूको स्वायत्त संगठन नै सहकारी हो । सहकारी संस्थाहरू आफ्ना सदस्यहरूद्वारा नियन्त्रित तथा स्वावलम्बी संगठनहरू हुन् । यी संस्थाहरूले बाह्य श्रोतबाट पुँजी संकलन गर्न सरकार लगायत अन्य संगठनहरूसित सम्झौता गर्दा यी संस्थाहरू आफ्ना सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण तथा आफ्नो स्वायत्तता कायम राख्न सक्ने शर्तमा विश्वस्त हुनुपर्छ । सहकारी संस्थाहरू आत्मनिर्भर, स्व–उत्तरदायित्व, प्रजातन्त्र, समानता, सामाजिक न्याय तथा ऐक्यवद्धताका मूल्यहरूमा आधारित हुन्छन् । आफ्ना संस्थापकहरूको परम्परामा सहकारी संस्थाका सदस्यहरूले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरूको चासो राख्ने नैतिक मूल्यहरूमा विश्वास राख्छन् । सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी सो व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी निश्चित व्यवसायीक उद्देश्यका लागि गठन हुने हुँदा एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो । यो पुँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । सहकारी सबैका लागि खुल्ला हुने हुँदा हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवम् वितरीत सेवा ग्रहण गर्न सक्दछन् ।

यसर्थ समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो । सहकारीमा संलग्न सदस्यबीच समान स्वामित्व, लोकतान्त्रिक व्यवस्थापन र आर्थिक गतिविधिको अनिवार्यता रहने गर्छ । यसले आधारभूत तहको स्रोत, श्रम, सिप, पुँजी र प्रविधिलाई सदुपयोग र समुदायको हितमा परिचालित गर्दछ । आर्थिक तथा सामाजिकरूपमा पछि परेका र विभिन्न कारणले वञ्चितीकरणमा परेका नागरिकलाई अधिकार सम्पन्न बनाउने र समाजको मूल प्रवाहमा ल्याउने भएकाले सहकारी एक दिगो दर्शन र संस्कृतिका रूपमा सर्वस्वीकार्य बनेको छ । अधिकांश मुलुकको विकास प्रयाससँग प्रत्यक्षरूपमा जोडिएको र विश्वव्यापी आर्थिक मन्दीमा पनि दिगोरूपमा समुदायमा काम गर्न सफल र आर्थिक मन्दीको प्रभावलाई न्युनीकरण गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ । सहकारी संस्थाहरूले आफ्ना सदस्यले अनुमोदन गरेका नीतिअनुरूप आफ्नो समुदायको दिगो विकासका लागि कार्य गर्दछन्, अन्त्यमा सहकारीकर्मी

को हुन् ?

  • व्यवसायी
  • स्वरोजगार
  • मालिक
  • उपयोगकर्ता
  • सहयोगी

को होइनन् ?

  • बिचौलिया
  • रोजगार
  • रोजगारदाता
  • लगानीकर्ता
  • कल्याणकारी

    सहकारिताको महत्व र आवश्यकता

सहकारिता मानिसहरूको सामाजिक तथा आर्थिक उत्थान र व्यवसाय गर्ने एउटा उपाय हो । सहकारितामार्फत संस्थागत रूपमा आबद्ध व्यक्तिहरूको आर्थिक तथा सामाजिक हित र व्यवसाय सफलतापूर्वक संचालन गर्न सहकारिताका विभिन्न सिद्धान्तहरू प्रतिपादन गरिएको हुन्छ । सहकारिता भनेको पुँजी नभएका वा केही पुँजी भएर पनि एक्लै व्यवसाय गर्ने क्षमता नभएका, केही पुँजी पनि छ र अलिअलि व्यवसाय गर्न पनि सक्ने खुबी छ तर यी दुवै कुराहरू भएर पनि व्यवसाय गर्दा सबै घाटा लाग्यो भने परिवार भोकै पर्छन् भन्ने कुराले एक्लै व्यवसाय गर्न आँट गर्न नसकेका व्यक्तिहरू मिलेर गर्ने कार्य हो । यस्तो सहकार्य गर्दा आफूसँग भएको केही पुँजी संस्थामा जम्मा गरी त्यसबाट व्यवसाय गर्ने कुशलता, क्षमता र आँट सिर्जना गरी संस्थाकै माध्यमबाट व्यावसायिक एवम् अन्य कारोबार संचालन गरी सदस्य परिवारको आर्थिक, सामाजिक र सांस्कृतिक विकास सम्भव हुन्छ । सहकारीतामा आवश्यक तत्वहरूमा समान आर्थिक साध्य, समान उद्देश्य र आवश्यकता, समान जोखिम एवं नाफा, समान अवस्था, खुल्ला एवं स्वैच्छिक संलग्नता, प्रजातान्त्रिक नियन्त्रण, स्वतन्त्रता र समन्वय आदि पर्दछन । सहकारी संस्था जनताको लागि जनताद्वारा संचालित जनताको आफ्नै संस्था भएकोले जनआकांक्षाको पूर्ति जनसहभागिता विना सम्भव छैन । नेपालजस्तो कृषिप्रधान मुलुक तथा भर्खर मात्र विकासको पथमा वामे सर्न जुर्मुराएको अर्थ व्यवस्थामा सहकारिताको आदर्श र यसको कार्यान्वयन पक्षले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सहकारितामा संलग्न कृषकहरूमा नैतिकताको विकास हुने भएकोले उनीहरूमा फजुल तथा अनुत्पादक खर्चजस्ता अनावश्यक क्रियाकलापदेखि सतर्क हुन टेवा प्रदान गर्दछ । यसले ग्रामीण समाजमा नियमित र उत्पादकत्व खालको भावनाको विकास गरी समाजमा द्रुततर गति प्रदान गर्न समेत प्रोत्साहित गर्दछ । किसानहरूको आम्दानी बढाई जीवनस्तर उकास्न बहुमुखी सहकारी संस्थाको स्थापना अति आवश्यक छ । बहुमुखी सहकारी संस्थाहरूबाट कृषिक्षेत्रमा संलगन कृषकहरूलाई ऋण सुविधा, बजार सुविधा, बेचबिखन र उपभोक्ताजस्ता सुविधा सुलभ गराई ग्रामीण जीवनमा आधारभूत सुधार ल्याउन यसको योगदान सर्वोपरि छ ।

गाउँदेखि शहरसम्म रुचाइएको सहकारीको अपरीहार्यतालाई आत्मसात गर्दै सबै पक्षबाट यसको जगेर्ना गर्नु जरुरी छ । ग्रामीण महिलाहरुको आर्थिक, सामाजिक सशक्तिकरण गर्न, महिला हिशा न्यूनिकरण गर्न सहकारी आवश्यक छ । किसानहरुका उत्पादनलाई संकलन गर्ने एवं बजार ब्यवस्थापन कार्यमा सस्था अग्रसर हुनुपर्छ । प्रत्येक सर्वसाधारण कृषक वर्गहरूलाई समेट्ने गरी कृषकहरूलाई समूहगत रूपमा संगठित गराउनुपर्दछ । यसबाट कृषकहरूमा आपसी सद्भावना र एकताको भावना प्रस्फुरण हुन गई सहकारीको लक्ष्य अनुरूपका मार्ग मेटाउन सजिलो पर्दछ । अर्को कुरा सहकारी सिद्धान्तअनुसार व्यक्ति सदस्य मात्र रहनु उपयुक्त हुने भएकोले प्रारम्भिक संस्थामा व्यक्ति सदस्य र संघमा संस्था वा संघ सदस्य हुन सक्ने र अन्य निकायमा सरकार वा सरकारका निकाय मात्रले सेयर खरिद गर्न सक्ने व्यवस्था गरी ऐन तथा नियममा परिमार्जित हुनु उपयुक्त हुन्छ । सहकारी संघ संस्थाहरूमा नियमित लेखापरीक्षण हुनु अति जरुरी हुन्छ । यसै क्रममा आन्तरिक लेखापरीक्षण गराउन संस्थामा एउटा लेखासमिति गठन गर्न सकिने व्यवस्था ऐनमा रहेकोमा सो व्यवस्था संघमा समेत राखिनु उपयुक्त हुन आउँछ । यसको उपयुक्त समाधान र यसलाई गम्भीर शिक्षाका रूपमा लिँदै प्रभावकारी नियमन र सहकारी सुशासनयुक्त अभ्यासमा अग्रसर र प्रतिबद्ध हुनुपर्छ । नेपाल संघीय राज्य व्यवस्थामा गइसकेकोले संघीयतामा आर्थिक समृद्धि हाँसिल गर्न सहकारीको भूमिका थप हुन्छ नै । स्थानीय वस्ती र टोलटोलमा सामाजिक, आर्थिक, शैक्षिक सहकार्यमा संचालन गरिने सहकारीको भूमिकालाई थप परिष्कृत र चुस्त वनाउनु अहिलेको ज्वलन्त आवश्यकता हो । सहकारीताको कार्यक्षेत्र र भूमिकालाई सहि र कानून सम्वत विधिवाट उपयोग गर्ने गरी यसको महत्व र आवश्यकतालाई वहस र छलफलमा ल्याउनुपर्ने हुन्छ । विगतका त्रुटि र कमजोरीहरुलाई सच्चाउदै औपचारिक रुपमै आर्थिक समृद्धि र विकासको ठुलै हिस्सा ओगट्ने गरी व्यवस्था गरिनुपर्दछ ।

(लेखक तथ्यांक कार्यालय नुवाकोटका प्रमुख हुन् ।)