भूकम्पले पु-याएको अर्को ठूलो क्षति

Phurpa Tamang Trishuli Web

-फुर्पा तामाङ

धेरैलाई लाग्न सक्छ, २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले धेरै धन–जन क्षति पु-याएका छन् । यो त सबैले देखेको क्षति हो । अर्को ठूलो क्षति पुर्याएका छन् जुन धेरैले देखेकै छैनन् । त्यो हो, रसुवा जिल्लाका तामाङ जातिको पहिचान झल्किने घर–संस्कृति । भूकम्प पश्चात धेरैले सुरक्षित र बलियो घरको आवश्यकता ठानेका छन् । सरकार र प्राविधिकहरुको पनि ध्यान यसैमा केन्द्रित देखिन्छ । भूकम्पीय दृष्टिकोणले सुरक्षित बासस्थान र घर हुनु पर्नेमा दुईमत हुनै सक्दैन । तर घर भनेको कुनै जाति वा समुदायको संस्कृति र पहिचान पनि हुँदो रहेछ भन्ने कुरा पनि बिर्सन हुँदैन ।

भूकम्पले धन–जनको क्षति त पु-यायो नै साथै सदियौंदेखिको रसुवाका तामाङ जातिको मौलिक पहिचान झल्किने घर÷वास्तुकला÷संस्कृतिलाई समेत लोप हुने अवस्थामा पु¥याइदियो । हो, ती घरहरु प्राविधिक दृष्टिकोणले बलिया थिएनन् होला तर घरहरुको बनोटले रसुुवाका तामाङ जातिको ऐतिहासिक, पुरातात्विक र कला–संस्कृतिको सभ्यतालाई उहिलेदेखि अहिलेका पुस्तासम्म ल्याई पु-याएका थिए । तर, भूकम्पले ढुंगाको गारोमा माटोले जोडेका काठ र ढुंगाको सामाग्री प्रयोग गरेर बनाइएका ती घरहरु सबै भत्काई दिए ।

भूकम्प जानु अघि रसुवाका तामाङ गाउँहरु प्रवेश गर्दा एक किसिमको रमाइलो अनुभूति हुने गथ्र्यो । त्यो हो–काठ र ढुंगाको घर । गरागरा परेको भिरालो जमिनमा काठको फलेकको छानो र ढुंगाको गारो लगाएका कहीं झुरुप्पवस्ती र कहीं डाँडामा लस्करै देखिने घरहरुले देशी–विदेशी पर्यटकहरुलाई समेत निकै आकर्षण गरेको हुन्थ्यो । अब त्यस्तो घरहरु देख्न पाइने छैनन् ।

भूकम्प पश्चात बनिसकेका घरहरु हेर्दा बलिया छन् । निर्माण सामाग्री पनि प्राविधिकको सल्लाह अनुसार प्रयोग भएका छन् । तर ती घरहरु तामाङ पहिचान र संस्कृति झल्किने खालका छैनन् । अब बन्ने घरहरुलाई बलियो घर सम्म भन्न सकिन्छ ।

किन यस्तो भयो त ? कारण हो, राष्ट्रिय पुनःर्निर्माण प्राधिकरणले तयार पारेको घरको नक्शा–डिजाइन । स्वीकृत नक्शा र घरको डिजाइनल तामाङ जातिको मौलिकता भन्दा भिन्न छन् । प्राविधिकको सल्लाह अनुसार स्वीकृत नक्शामा घर निर्माण नगरे सरकारले भूकम्प पिडितलाई दिने रु. ३ लाख अनुदान सहयोग पाउँदैन । यसले गर्दा अब बन्ने घरहरु भूकम्प प्रतिरोधी र बलिया भए पनि तामाङ जातिको घर–संस्कृति अनुसार नबनिने भएको हो । अब त्यस्ता घरहरु इतिहासमा मात्रै सिमित रहने भयो भने यसको नकारात्मक असर संस्कृति–पर्यटन प्रबर्धनमा समेत पर्ने भयो । रसुवा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकहरु हिमाल र भूदृश्य अवलोकन गर्ने मात्र नभएर यहाँको गाउँबस्तीको कला संस्कृति हेर्न आउने गर्थे ।

रसुवाका तामाङ जातिको घरको बनोटलाई चार भागमा बाँडेर हेर्न सकिन्छ । पहिलो हो, छानोको भाग । उहिले देखि नै तामाङहरुले फलेकको छानो छाउँदै आएको हो । छानो छाउने काठ तामाङमा ‘क्वि–दोङ्पो’ अर्थात पानी सल्ला प्रजातिको हो । यो २२ सय मीटर देखि माथिको उचाईमा पाइन्छ । काठको फलेकको छानोलाई तामाङ भाषामा ‘पङ्लेप’ भनिन्छ । घरभित्र आगो बालेको धुँवाले यसलाई सुकाएर कुहिनु र सड्नुबाट जोगाउँछ । टाढाबाट हेर्दा छानो कालो तर आकर्षक देखिन्छ । छानो छाउन मिल्ने गरी सल्लाको काठको बाटा(ब्रेङ) ठाडो पारेर हाल्नु पर्छ । बाटा(ब्रेङ) माथि तेर्सो(क्रस) गरेर तामाङ भाषामा ‘छूप’ भनिने प्रजातिको लेकाली निगालो (म्आ) दुई–दुईवटालाई संगै पारेर चोयाले बलियोसंग बाँध्नु पर्छ । तेर्सो पारेर बाँधिएको निगालोलाई तामाङ भाषामा ‘थातोर’ भनिन्छ । थातोर बान्दा एक ठाउँमा तल(पोथी र माथि(भाले) पारेर बाँधिन्छ । यसलाई ‘मम्तिङ–मेमे’ अर्थात हजुरबा–हजुरआमा भन्ने चलन छ । यो निगालो अन्य प्रजातिका भन्दा असाध्यै बलियो हुन्छ । निकै सिपालु व्यक्तिले मात्र फलेकको छानो छाउन जान्दछन् । शिकारुले छाउँदा वर्षायाममा पानी चुहिने डर हुन्छ ।

दोस्रो हो, ज्याखङको भाग । यो भाग छानो अर्थात धुरी देखि तलको भाग हो । ज्याखङको उचाई पाँच हात अग्लो हुन्छ । यो भागमा पनि ‘छूप–म्आः) प्रजातिको निगालोलाई मिलाएर वा काठको फलेक मिलाएर राख्छन् । ज्याखङमा धूप तथा सरसामानहरु राखिन्छ ।

तेस्रो भाग हो, सिमखङ, छोखङ, सखङ अर्थाल सुत्ने, बस्ने र खाने कोठा । यो भाग मुख्य मानिन्छ । यसमा बौद्ध र बोन धर्म–संस्कृतिसंग मिल्ने गरी अर्थपूर्ण ढंगले खोपिएको बुट्टेदार झ्याल, ढोका बनाइएको हुन्छ । माथि उक्लिने सिंढी (थेम्बा) र बार्दली(रब्सल) पनि काठकै र बुट्टा खोपिएकै हुन्छ । घरको तीनतिर ढुंगाको गारो लगाइएको हुन्छ । अगाडी पट्टिको भाग(रब्सल देखि ढुंगाको गारोबीचको) मा पनि काठको फलेकलाई नस् बानेर चिसो हावा नछिर्ने गरी बुट्टे झ्याललाई केन्द्र अर्थात मध्य भागमा पारेर काठको फलेकलाई नै गारोको रुपमा ठड्याइएको हुन्छ । घरभित्रको मध्य भागमा आगो बाल्ने चुल्हो(गोगा) बनाइएको हुन्छ । चुल्होमा तीन खुट्टे फलामको ओदान राखिन्छ । ओदान भन्दा अलि अग्लो पारेर भाँडाकुँडा राख्न केही अग्लो भाग बनाइन्छ । यसलाई ‘फुदुल’ भनिन्छ । फुदुलमा दियालो÷टुकी बाल्न मिल्ने गरी ओदान पट्टिको भागमा फेरि अलिकति अग्लो बनाइन्छ । यो अग्लो भागलाई ‘बोर्सो’ भनिन्छ । चुल्होमा दिउँसो उज्यालो छिर्नको लागि त्यसको सीधा पर्ने ढुंगाको गारोको मध्य भागमा तीन खुट्टे–दुईवटा पल्ला भएको सानो झ्याल राखिन्छ । यो तीन खुट्टे झ्याललाई तामाङ भाषामा ‘कङ सुम्प’ भनिन्छ । चुल्होको सीधा माथि केही कुरा सुकाउन मिल्नेगरी काठको ‘मेलङ’ झुण्ड्याइएको हुन्छ । गारोको भित्तोभरि टाँसिएर काठकै फलेकहरुबाट निर्मित सामान राख्ने दराज(तेम्), बक्सी÷बङः÷फेगम् (बाकस), काँसको थाल, पित्तल÷तामाको गाग्री र पानी जम्मा पार्ने तामाको भाँडा(गयर÷ठो) राख्ने क्याङजङ–सङ्री र बौद्ध ग्रन्थ राख्ने तथा पूजा गर्नका लागि क्षेट्ठी बनाइएको हुन्छ । यी सबैमा युङ्टुङ (स्वस्तिक), त्रिशूल, बुम्बा(कलश) र ग्याना च्यारी नाम दिइएका बुट्टाहरु खोपिएका हुन्छन् । काठको डाडु(गु), पन्यू(क्यावा), निगालोको फिट्ने(वुर्सिङ) हाल्नको लागि काठकै ‘ग्विजङ’ नाम दिइएको ठाडो बाकस बनाइन्छ । आवश्यकतानुसार चोयाले बुनेको थैली(बेन्गे) मा खुर्सानी आदि हालेर मेलङ माथि राखिन्छ ।

चौथो भाग हो, वाखङ अर्थात छिंडीको भाग । यो भाग सबै भन्दा मुनिको भाग हो । धेरैले छिंडी खुल्ला नै राखेका हुन्छन् । कतिले भने यसमा पनि ढुंगाको गारो लगाएर बीचमा ढोका राखिन्छ । त्यसको अघिल्तिर ओखल राखिएको हुन्छ । भोटे कुकुरलाई छिंडीको छेउमा बाँधेर राख्छन् । छिंडीमा दाउरा थुपार्ने, कुखुरा पाल्ने तथा जाडो याममा गाईबस्तुलाई चिसोबाट छल्नको लागि राखिन्छ ।

यसैगरी घरको धुरीमा र आँगनमा रानी सल्ला प्रजातिको रुखलाई ल्याएर बौद्द झण्डा/लिङ्गो (दर्सिङ) गाडिएको हुन्छ । यसरी नै घरको अघिल्लो भागको ढुंगाको गारोको सुरमा बोन्पो(झाँक्री)ले कल्ता दोङ्बो(गोब्रे सल्ला) वा तामाङमा ‘सिङ्रा दोङ्बो’ नाम दिइएको रुखलाई बोन्पो झण्डाको रुपमा पूजा (कुरिम) गरेर ‘पाचम’ ठड्याउने चलन छ ।

घरको धुरी हालेपछि महिलाहरुले धुरी नाघ्नु हुँदैन भनिन्छ । धुरी नाघ्यो भने धुरीको काठ भाँच्चिने वा घर लड्ने वा ग्रहदशा आइपर्न सक्छ भन्छन् । उहिले ढोका अग्लो बनाउँदाको बखत भीरबाट लडेर मरेको मूर्दा बौरी उठेर आई घरभित्रको मानिसहरुलाई छोइदिँदा ती सबै बहुलाएर मरेको हुनाले त्यस दिन देखि सबै घरहरुमा होचो ढोका बनाउन थालेको कथा पनि छ । बौरी उठेको लाश÷मूर्दा निहुरिन सक्दैनन् र ढोका होचो हुँदा त्यो भित्र पस्न सक्दैन भनिन्छ । लाश बौरी उठेकोलाई तामाङमा ‘र्ओलङ’ भनिन्छ ।
ठूलो भार्खु, रसुवा