नेपालमा पर्व विदा घटाउने कि ?

Ramhari Baje Trishuli Web

– रामहरि बाजे

हाम्रो देशमा जुनसुकै तन्त्रले राज्य चलाए पनि संसारकै गरिब देशको सूचिमा उकालो चढ्दै जानुमा पर्वविदाको संख्यामा पनि बढेको उच्चताले पो हो कि ? यसको बहस थाल्नु पर्ने बेला भएको छ । धेरै विदाले राज्यालाई के कति हानी नोक्सानी पु¥याएको छ, त्यसको खोजीनिती गर्नु पर्ने बेला भएको छ । हाम्रो देशमा जनसंख्या थोरै भए पनि परम्परागत जातजातिको संख्या धेरै छन् । त्यस्ता सयौं जातजातिले १ देखि ५ दिनसम्म विदा पाउने चलन र विभिन्न दिवस मनाउने नाममा दिइने विदासमेत जोड्दा ३ सय ६५ दिनमा १ सय ८० दिन विदा हुन लाग्यो । कृषि प्रधानदेशमा यान्त्रिकीकरण गरि उत्पादन बढाउने
तर्फ भन्दा विदा बढाएर मनोरञ्जनमा सरिक हुने अनि फेशन र व्यसनमा समेत आकर्षण बढ्दै जाँदा हाम्रो देशको आर्थिक र सामाजिक भविष्य कतजाताजा ?

अधिकांक पहाडी भागका उर्वर जमीनहरु बाँझै राखेर रंगीन बोरामा चामम किनेर खानेहरुको संख्या बढ्दै गएको बेलामा झन जातैपिच्छेका दिवस र पर्वविदा बढाउनु सस्तो र खोक्रो लोकप्रियता मात्रै हो जस्तो लाग्छ । २ र ३ कक्षाका विद्यार्थी विदा पाउँदा रमाएपनि उर्जाशील र निर्माणशील जनशक्ति रमाउनु भनेको देशको भविष्यप्रति खेलवाड गरेजस्तो हुन्छ ।

यस्तै हो भने लोकतन्त्रले भोकमरी ल्याउन सक्छ आगामी दिनमा । आफूलाई जनमुखी पार्टी हौं भन्ने सरकारले शनिबारदेखि बाहेक सबै विदाहरु कटौती गरेर प्रधानमन्त्रीदेखि मजदुरसम्म मिलेरै अब १० वर्षसम्म १२ घण्टा काम गरेर देशको अर्थतन्त्रलाई माथि उठाएपछि मात्र विदाहरु बढाउने र मनोरञ्जन गर्ने बेला ल्याउनु पर्छ । लोकतन्त्र नेताले चलाउन हुँदै होइन, श्रमजिवीले नेतालाई नियन्त्रणमा राख्नु पर्छ । ६ महिनासम्म हिउँले पुरेर राख्ने देशहरुमा नर्वे, स्वीडेन, फिनल्याण्ड जस्ता धेरै देशहरुमा पहिले हामीजस्तै गरीबदुःखी थिए । आज उनीहरुका मजदुरहरु एयरकन्डिसनभित्रै बसेर सम्पूर्ण उत्पादन र विश्व व्यापार गरेर हामीलाई समेत करोडौं डलर आर्थिक सहयोग गर्दैछन् । के त्यो विकास ईश्वरले गरिदिएको हो र ? तिनका पुर्खा पनि समुद्रमा उत्रने सल्लाकै ठुटोमाथि चढेर खाली खुट्टाले चट्टानमा हिडेर गरेको पूर्वाधार विकासको फल खादैँछन् । २१ औं शताब्दीमा हामीले अनुषन्धानमा खर्च गर्ने होइन, उनीहरुले अनुषन्धान गरिसकेका आधुनिक उपकरणहरु ल्याएरै विदेशिएका युवा शक्तिलाई हौस्याएर देश निर्माण गर्नेतर्फ राज्यले नै ऐन नियम बनाउनु पर्छ । तर, नीति निर्माण गर्ने कुर्सीमा अमुक अमुक पार्टीलाई करोडौं बुझाएर ल्याइने व्यक्ति आयो भने विकासका बजेट बालुवामा पानी हुने निश्चित छ । संस्थान र सामाजिक क्षेत्रमा निर्णायक व्यक्ति को को जाने ल्याउने भनेर करोडौंको टेण्डरमा दौडादौड चलेको अघोषित तर, सत्य खबर छुयालब्याल भईसकेको छ । अब विदा बढाउने होइन, कटौती गर्नु पर्छ । अब उत्पादन बढाउनतिर लाग्नु पर्छ । विकासका कामहरु समयमा गर्नको लागि पनि विदाले धेरै असर पारेको छ । विदा कटौती गरेर विकासको लागि सबै लाग्न पर्छ ।