भावुकिएँ जब पुर्ख्यौली थलोमा…

shreeram shrestha trishuli web

-श्रीराम श्रेष्ठ

नागरिक संवाद केन्द्र, नुवाकोटसँग विगत चार वर्षदेखि संंलग्न छु म । व्यवस्थापिका संसद् सचिवालय र नेपाल कानुन समाजको साझेदारीमा १४ वटै अञ्चलमा केन्द्रको स्थापना गर्दै संविधानका विविध विषयमा नागरिक संवाद कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ यो संस्थाले । वागमती अञ्चलका आठ जिल्ला रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा नियमित जसो कार्यक्रम हुन्छन् । यसै क्रममा हामीले धादिङ जिल्लामा करिब १० वटा कार्यक्रम सञ्चालन गरिसकेका छौँ ।

एक दिन धादिङका आत्मीय भाइ रामप्रसाद ढकालको फोन आयो । उनले भने, ‘दाइ ! धादिङ महोत्सव चलिरहेको छ । महोत्सव हेर्न पनि हुन्छ, घुम्न पनि हुन्छ । धादिङको विकट गाउँ जो गोरखा जिल्लाको सिमानामा पर्छ, मैदी । हो, त्यहाँ एउटा कार्यक्रम राखाँै न ।’ मलाई पनि उनको यो प्रस्ताव ठिकै लाग्यो । मैले नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानलाई यसबारे बताएँ । सहमति प्राप्त भयो । अब धादिङको अति विकट गाउँ मैदीमा नागरिक संवाद आयोजना गर्ने भइयो ।

धादिङ जाने दिन आयो । नुवाकोटबाट सुरजकुमार श्रेष्ठ, रामहरि खनाल, रघुनाथ खराल र म २०७३ माघ १ गते बिहानै बाटो लाग्यौँ । आफू धर्म–संस्कृतिको विधामा रुचि राख्ने मानिस भएकोले होला यससँग सम्बन्धित ठाउँ घुम्न र अवलोकन गर्न औधी मन लाग्छ । मैले धेरै वर्षदेखि धादिङको गुप्तेश्वर गुफाको बारेमा सुनेको थिएँ । यसै मौकामा त्यहाँ पुग्ने विचार आयो । साथीहरूलाई सुनाएँ । सबैले एकै स्वरमा सहमति जनाएँ । अब के चाहियो र ! हामी जाने भयौँ गुप्तेश्वर गुफा । मोटर साइकलमा सवार हामी आदमघाट पुल तरेर अगाडि बढ्यौँ । कच्ची बाटो । हिउँदे मौसम । धुलोको के कुरा गर्नु ! मोटरसाइकलको यात्रा । कुहिरी मण्डल वातावरण । रमिता हेर्दै हामी हुँकिरह्यौँ । विनासकारी भूकम्पका क्षतिहरू यद्यपि ताजैझैँ देखिए । पक्की भवनहरू देखिएनन् । टहरामा बसोबास गरिरहेका देखिए मानिसहरू । कतै–कतै मात्रै पक्की घर बनाउन घरको जग खन्दै गरिएको देखियो ।

जाँदै गर्दा जङ्गलबाट एक जना बूढा मान्छे डोकामा दाउरा बोकेर आइरहेका भेटिए । उनले सुनाए, ‘ उमेरले डाँडा काटे पनि के गर्ने बाबु ! छोरा जति सबै आ–आफ्ना श्रीमती च्यापेर भिन्न–भिन्न भइगए । के गर्नु आफू बाह्र छोरा तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि भनेझैँ भाको छ । जहानलाई दमको रोग छ, केही गर्न सक्दिनँ । के गर्नु खानुको लागि काम त गर्नै प¥यो ।’ उनको कुराले हामीलाई नि स्तब्ध बनायो । सुरज भुतभुतिए— ‘मान्छे छोरा–छोरा भन्छन् । छोरा भनेर के गर्नु ! यी बूढाबाका जस्ता छोरा हुनुभन्दा त नभएकै जाति ।’ हामीले गाउँ हे¥यौँ । राम्रो उब्जनी हुने गाउँहरू प्रायः बाँझै पल्टिएका थिए ।

धुलैधुलोको सडकको दिक्दारलाग्दो यात्रापछि बल्ल आइपुग्यो— गुप्तेश्वर गुफा । बाटोभरिको कष्टलाई बिर्सेर हामीले गुफाको अवलोकन ग¥यौँ । गुफाको प्रवेशद्वार छिर्नासाथ सामुन्नेमै एउटा शीला देखियो । शीलाबाट पानीका थोपाहरू चुहिँदा रहेछन् । शीलाको अलि अगाडि पाँच वटा खेतका गह्राजस्ता भाग देखिए । झट्ट हेर्दा शीला महादेवको शिवलिङ्ग र हात्तीको आकृतिजस्तो देखिँदो रहेछ । गुफाको भाग फराकिलो भएका कारण निहुिरनुचाहिँ नपर्ने रहेछ । तर, अक्सिजनको कमीले होला सास फेर्न अलि गाह्रो परेको जस्तो चाहिँ लाग्यो ।

चट्टानको मुनिपट्टि महादेवको छुट्टै शिवलिङ्ग रहेछ, जो कडा पत्थरद्वारा निर्मित छ । लिङ्गको माथि शीलामा गाईका थुनजस्ता चारवटा चुच्चा छन् । चारैवटा चुच्चाबाट पानीको थोपा निरन्तर लिङ्गमाथि झरिरहन्छ । शीलाबाट पानी निरन्तर रूपमा चुहिरहे तापनि भुइँमा चाहिँ त्यति पानी देखिँदैन । यसो हुनुमा दैवीशक्तिको हात मान्दा रहेछन् स्थानीय बासिन्दा । अलि तल गएपछि बाहिर निस्कने द्वार रहेछ । तर, अलि साँघुरो । सो द्वारबाट सजिलै बाहिर निस्कने मान्छे धर्मात्मा हुने र मरेपछि सरासर स्वर्गमा बास लिन पुग्ने तर द्वारबाट निस्कन नसक्नेचाहिँ पापी हुने किंवदन्ती रहेछ । गुफा र शिवलिङ्गको दर्शन गर्ने तीर्थालुहरूको भीड नै लाग्दो रहेछ । स्थानीय वासिन्दाका अनुसार खास गरेर शिवरात्री र तीजका अवसरमा यहाँ भव्य मेला लाग्ने गर्छ । मेलामा धादिङका साथै गोरखा र नुवाकोटका तीर्थालुहरूको घुँइचो लाग्ने गर्छ । शिवलिङ्गमा गाईको दूध चढाएमा गाईले प्रशस्त दूध दिने, गाई बाँधेमा वा दाम्लो चढाएमा गाईलाई कुनै पनि रोगव्याधिले नभेट्ने गाई नियमित ब्याउँछ भन्ने जनविश्वास रहेछ ।

उक्त गुफाका सन्दर्भमा एक जेष्ठ स्थानीयले सुनाए— ‘परापूर्वकालमा गुफा नजिकैको फूलबारी गाउँमा किसानहरूले लगाएको बाली वन्य जीवजन्तुले खाएर सखाप पारेछ । पछि बिहानीदेखि बेलुकीसम्म गाउँले किसानहरू मिलेर खेतबारीमा पहरा दिन थाले । धेरै दिनपछि मध्यरातमा एउटा चमकदार सेतो साँढेले धमाधम एकानाशले बाली खान लागेको गाउँलेहरूले देखे । गाउँलेहरूले चारैतिरबाट घेरी त्यो साँढेलाई बीचमा पारे । तर, एक्कासि त्यो सााँढे घेरा तोडेर नजिकैको पाखामा गई बेपत्ता भयो । त्यसै ठाउँमा गाउँलेहरू ढुङ्गा थुपारेर चिन्ह लगाई आ–आफ्नो घर फर्के । सोही रात एक वृद्ध किसानलाई भगवान शिवले दर्शन दिए ।’

ती स्थानीयले सुनाए— ‘भगवान शिवले ‘म शिव हुँ ! तिमीहरूले चिन्ह राखेको केही पर एउटा प्वाल छ, म त्यही प्वालभित्र जाग्राम बसेको छु । तिमीहरूले मेरो वास्ता नगरेको हुनाले मैले दुःख दिएको हुँ, छिट्टै मेरो पूजापाठ गरी दर्शन गर्नु । म तिमीहरूको कल्याण गर्छु ।’ नभन्दै भोलिपल्ट गाउँलेहरू आफूहरूले राखेको चिन्ह खोज्दै गए । खोज्दै जाँदा एउटा सानो प्वाल देखे । सोही प्वाललाई खनेर ठूलो बनाए र भित्र गई हेरे । हेर्दा त्यहाँ शिवलिङ्ग देखे अनि पूजाआज गरी गाईको दूध चढाए । त्यसै बेलादेखि उक्त स्थानमा पूजाआज गर्न थालियो ।’

हामी पुग्नु थियो धादिङबेँसी । अब अर्कै बाटो जाने कि आउकै बाटो फर्किने ? दुई मत भयो । अन्ततः आएकै बाटो फर्किने सहमति भयो । गुफाको अवलोकन र शिवलिङ्गको दर्शनपछि हामी आएकै बाटो फर्कियौँ । भोकले लखतरान पारिसकेको थियो । पानी पनि सिमसिम पर्न थालेको थियो । मङ्सिरको महिना । जाडोले सताउन थालिसकेको थियो । फोन गरेर मलेखुको एक चिनारु होटलमा सुरजले खानाको अर्डर गरे । हामी मलेखुतर्फ लम्कियौँ । मलेखु पुग्नु पनि सुरजले सुरापानको इच्छा प्रकट गरे । मलाई पनि सुरजको इच्छा ठीकै पो लाग्यो । हामीले छिनभरमै एक बोतल खुकुरी रम रित्यायौँ । रामहरिले सचेत नगराएको भए अझै पो थपिन्थ्यो कि ! त्यसपछि खाना खाएर हामी अगाडि बढ्यौँ ।

०००

खाना खाएर मलेखुको खोला तर्नै लाग्दा मलाई बाल्यकालीन स्मृतिहरूले अँगालो मारे । म त्यस्तै १०÷१२ वर्षको उमेरमा बाआमाका हात समाउँदै पुख्र्याैली घर ढोलामा यही बाटो भएर जान्थेँ । त्यति बेला पक्की पुल बनेको थिएन । त्रिशूली खोलामा पानीका टिन, ड्रम र काठकाठैले बनेको ठूलो फड्केमा वारीबाट मोटर राखी मोटरद्वारा धादिङबेँसी लगिन्थ्यो । कच्ची बाटो । मान्छे कति हो कति ! सिटदेखि हुटसम्म टन्न यात्रु । मलेखुबाट धादिङबेँसी पुग्न चार घण्टा लाग्थ्यो । तर, अहिले पिच बनिसकेको छ । १८ कि.मि. करिब आधा घण्टामै सजिलैसँग पुगिन्छ । मलेखुको पुल तर्नासाथ सिँचाई सुविधा भएका फाँटहरू देखिन्छन्, तरकारीहरू लगाइएका ।

फाँटमा एक जना किसान काम गरिरहेका भेटिए । एकछिनको भलाकुसारीपछि उनले बताए आफ्नो कथा । ती युवा रोजगारीको सिलसिलामा विदेश गएका रहेछन् । तीन वर्षको बसाईपछि सिकेका सिप सदुपयोग गरेका रहेछन् । ‘अहिले मैले १५ रोपनीमा मौसमी तरकारी खेती गर्दै वर्षको ८÷१० लाख आरामले कमाउँछु’ उनले भने । ‘बेरोजगारी समस्या हल गर्न सरकारले प्याकेजमा आकर्षक कार्यक्रम ल्याएर युवावर्गलाई कृषितर्फ आकर्षिकत गर्नु पर्छ ।’ रामहरि भन्दै थिए ।

धादिङलाई टार नै टार बेँसी नै बेँसीहरूको जिल्ला भन्दा फरक पर्दैन । गजुरीटार, मासटार, माझिटार, पीपलटार, कुमालटार, कल्लेरीटार, आदमटार, सल्यानटार, विशालटार, रिचोकटार, फिसफिसेटार, जोगीटारका साथै र धादिङबेँसी, तल्लोबेँसी, सल्यानबेँसी, ठूलोबेँसी, टारीबेँसी आदि टार र बेँसीहरू छन् यस जिल्लामा । सिँचाई सुविधाका कारण धादिङ तरकारी खेतीमा देशकै एक अग्रणी स्थानमा पर्दछ । काठमाडौंको कालिमाटी तरकारी बजारमा करिब २७÷२८ प्रतिशत हरियो तरकारी यहीँबाटै निर्यात हुँदो रहेछ । जिल्लामा नै राष्ट्रिय सहकारी प्रशिक्षण केन्द्र स्थापनाका लागि माग उठिरहेको पाइन्छ ।
धादिङ प्रशस्त पानीको स्रोत भएको जिल्ला हो । विन्दुकेशरी (थोपल), भालेटाइ, दुरूगुनी, अखिल, डुङखुल, माटा, गन्धावनी, घटिया, लिस्ने, हाङगाङ, गरूला, औल, किन्ताङ, बगुवा, आफल, तादी कोल्पु, डन्डुरे, मनु, लपाङ, कास्टे, अवद्धि, घाले, पलेखु, घयापिङ, खानी, टुनो, अाँसी, महत, छोरीनदी, हाँडी, ग्याल्मा, धौ, सामरी, च्याडँु गल्डु, सुकौरा, बेल्खु महेश, आत्र, चिरौदी, थाप्ले, मलेखु, दरियाली, कोसी, जुङ्गे लगायतका करिब १ हजार ७ सय ४० खोलाखोल्सी रहेको तथ्याङ्कले बताउँछ । मुख्य नदी त्रिशूली र बूढीगण्डकी त ¥याफ्टिङमा आन्तरिक र बाह्रय पर्यटनका केन्द्र नै भइहाले ।

थोपल खोलाको पानीले फाँटमा गरेर पनि स्थानीय स्तरमा थोपल खोला लघु जलविद्युत आयोजना स्थापना गरिएको छ । १.६५ मेगाबाट जल विद्युत उत्पादन गर्दै आएको छ । अझ यसलाई वैज्ञानिक तरिकाले सञ्चालनमा ध्यान दिने हो भन्ने उत्पादन बढ्न सक्ने संभावना आँकलन गर्न सकिन्छ । त्यस्तै बूढीगण्डकीबाट १२०० मेघाबाट विद्युत उत्पादन गर्न बूढीगण्डकी जलविद्युत आयोजना विकास समिति स्थापना गरिएको छ । विद्युत उत्पादनका साथ साथै समितिले पर्यटन विकासका लागि सपिङ कम्प्लेस, यातायात, खानेपानी, सञ्चार, जस्ता पूर्वाधारलाई महत्व दिनुका साथै मध्य पहाडी राजमार्ग कल्पना गरेको छ ।

मध्य पहाडी राजमार्ग तेह्रथुमको म्याग्लङ, वसन्तपुर, धनकुटाको हिले, खोटाङको दिक्तेल, काभ्रेको धुलिखेल, काठमाडौं, पोखरा, बाग्लुङ, रुकुमलगायतका २४ जिल्ला जोड्ने लक्ष्य राखिएको छ । कतिपय ठाउँमा जलविद्युत सञ्चालनका लागि गाउँबस्ती नै अन्यत्र सार्नु पर्ने देखियो । समितिले ४० आधुनिक बस्ती करिब १०० वर्षसम्म थेग्ने गरेर परिकल्पना गरेको छ । यसरी जलविद्युत क्षेत्रमा पनि धादिङले समयक्रममा लामै फड्को मार्ने सुनिश्चित छ ।

मनमा विकास निर्माणका यस्तै कुराहरू खेलिरहँदा समय बितेको पत्तै भएन । आइपुगिएछ कालीदह बजार । त्यहाँ एकै छिन् विश्राम गर्ने सल्लाह भयो । सडक छेउका दोकानहरू । धुले सडक । यस्तै थियो बजार । हामीले सेलरोटी खायौँ । अन्यतिरको भन्दा भिन्न किसिमको । काँडैकाँडा उम्रेको जस्तो सेलरोटी । खाउँखाउँ लाग्ने । हामीले टन्न सेलरोटी खायौँ । सुरज साउनीलाई भन्दै थिए, ‘साह्रै मीठो सेलरोटी खुवाउनुभयो है साउनी ।’ साउनीको अनुहारमा सन्तुष्टिको आभाष फैलियो ।

‘यो ठाउँको नाम किन कालीदह रहेको होला है साउनी ?’ मैले सोधेँ । साँहुनी युवा अबस्था कि । ‘थोपल खोला नजिकै एउटा दह छ । त्यो दहको पानी हेर्दा कालो देखिन्छ । त्यही भएर यो ठाउँको नाम पनि कालीदह राखिएको होला ।’

रामहरिले उर्दी जारी गरिहाले— ‘लु है सरहरू यस्तो तालले त पुग्न कठिन पर्छ है !’ हामीले अगाडि बढ्यौँ । धादिङबँेसीको पुल क्रस गर्न मात्र के लागेका थियौँ एक जना प्रहरी दगुर्दै आएर चेकजाँच गर्न सुरू ग¥यो । हामीले आफूसँग भएको ब्लुबुक र सवारी चालक प्रमाणपत्र देखायौँ । तराईमूलका देखिने ती प्रहरीको बोली निकै रूखो थियो । सुरजले भने, ‘ए भाइ, अलि नम्र तरिकाले बोल्नु प¥यो । सवारी साधन त ट्राफिकले पो चेकजाँच गर्छन् ।’ त्यो प्रहरीले एकछिन् सुरजलाई घोरिएर हेर्दै थियो । हामी त्यहाँबाट हिँड्यौँ ।

महोत्सवको अन्तिम दिन भएर होला मान्छेहरूको चहलपहल बजारका सडकभरि लावालस्कर देखिन्थ्यो । मोटरसाइकल कुदाउन पनि डर पो लाग्यो । बीच बजारमा कपडा पसल छ– कल्पना अधिकारीको । उहाँकै पसलको बरण्डामा मोटरसाइकल राख्यौँ । हामीलाई देखेर दिदी खुसी भइन् ।

कल्पना अधिकारी धादिङकी साामजिक एवं राजनीतिक क्षेत्रमा अग्रणी व्यक्तित्व । साह«ै मिलनसार, सहयोगी र भद्र नारी । दिदीले आफूले चलाइरहेको तयारी पोशाक उद्योग हामीलाई देखाइन् । २५/३० जना कामदारहरू कार्यरत थिए । धादिङबेँसी मात्रै होइन काठमाडाँैका धेरै कलेज तथा विद्यालयबाट तयारी पोशाकको अर्डर आउँदो रहेछ दिदीको उद्योगमा । वर्षेनी करिब डेड करोडको कारोबार हुने गरेको दिदीले बताइन् ।

दिदीकै आतिथ्यमा हामीले महोत्सव अवलोकन ग¥यौँ । महोत्सव स्थलमा घरेलु उत्पादनका अनेकोँ स्टलहरू सजिएका थिए । ती स्टलमा अवलोकनकर्ता र ग्राहकहरूको भीड लागिरहेको थियो । हामी घुम्दै मञ्चनिर पुग्यौँ । एक जना गायिका गीत प्रस्तुत गर्दै भन्दै पनि थिइन्— ‘ए, सोल्टीहरू ! मसँग घरजम कोही छ ?’ सुरजजी जोसिए ठूलै स्वरमा— ‘साँच्चै भनेको भए म छु है म छु ।’ हामी हाँस्यौँ । उमेरले दुई बीस पुग्न लागे पनि सुरजजी अविवाहित नै छन् । ‘साँच्चै कुरा चलाउँ त गायिकासँग ? मैले जिस्क्याएँ ।’ हामीले गायिकालाई एउटा चिट पठायौँ । गीतमै उनले जवाफ दिइन्— ‘म विवाहित हूँ, दुई जना बच्चा छन् घरमा ।’ गीत सुनिरहेका सुरज निरास देखिए । उनी भन्दै थिए, ‘मैले नि ठट्टा पो गरेको त ।’ धादिङका भाइ रामप्रसाद ढकालले होटेल जीविकामा दुई कोठा बुक गरिदिएका रहेछन् । हामी महोत्सव अवलोकन गरेर होटल गई विश्राम ग-यौँ ।

०००

बिहानको भालेको डाकसँगै हामी मैदीतर्फ लाग्न तयार भयौँ । पुग्नु छ, धादिङको मैदी अर्थात् गोरखाको सिमाना । गर्नु छ, संविधानका प्रमुख विषयवस्तुमा नागरिक संवाद । धादिङकै मानबहादुर तामाङ र रामप्रसाद ढकालसहित तीनवटा मोटर साइकलमा हामी छ जनाले बाटो ततायौँ । धादिङबेँसीबाट मैदी जान दुईवटा बाटो रहेछ । एउटा ढोलाको र अर्को शशाबाट । समयमा नै पुग्नु पर्ने हुँदा छोटो बाटो शशाबाट नै जाने निधो भयो । शशाबाट जाने बाटो कच्ची रहेछ । यातायातका साधनहरू बढी कुद्ने भएको हुँदा बाटोको संरचना पूरै ध्वस्त । धेरैजसो ठाउँहरूमा ओर्लनु पर्ने । मोटरसाइकललाई पछाडिबाट ठेल्नु पनि पर्ने ।

उकालो चढ्दै जाँदा दुई वटा बाटो देखियो । एउटा मण्डली स्थान जाने र अर्को मैदी । मण्डली स्थान देशभरि प्रख्यात ठाउँ । वि.सं.१८५० सालतिर स्थापना भएको अनुमान गरिन्छ मण्डली स्थानको । यसको उत्पत्तिको बारेमा यस्तो किवदन्ती रहेको छ — ‘एक समय मगर जातिका एक व्यक्ति घर बनाउन नजिकैको बनमा गई बन्चरोले रूखमा हान्दा चोट लागेन छ । बरु बन्चरोको धार खसेछ । ऊ घर फर्केछ । भोलिपल्ट कामीको आरनमा गएर बन्चरो अर्जापेछ । र, पुन ः रूख काट्न लाग्दा रुखबाट रगत बगेछ । ऊ अचम्मित भई घर फर्केछ ।

राति खाना खाएर ऊ विस्तारामा पल्टेको मात्रै थिएछ । उसले सपना देखेछ । सपनामा— ‘म मण्डली हुँ । म सालको रूखमुनी बसेको छँु । तसर्थ सालको रूखलाई काट्ने प्रयास नगर । सबैलाई सङ्कट परेको बेलामा म संरक्षण गर्ने छु । मेरो पूजा गर्नू । पूजा गर्न १२ वर्षभित्रको कुमार मगर केटो हुनु पर्दछ । मलाई बाख्राको पाठी बली दिनू । फलफूल, अक्षता, नैवेद्य, चन्दन चढाउनू । प्रसाद यहीँ बसेर खानू । घर नलग्नू । चोखोनितोमा ध्यान दिनू ।’

मण्डलीले भने बमोजिम यसरी गाउँलेले सालको रूखवरिपरि सरसफाई गरी पूजाआजा गर्ने चलनको शुभारम्भ गरेछन् । यहाँ मङ्गलबार मात्र पूजापाठ गरी बली दिने चलन रहेछ । मङ्गलबार एकै दिनमा दिनमा ३ सय वटासम्म बाख्राका पाठी एकै दिन बलिदिने गरिँदो रहेछ । महिला र दलित समुदायलाई मण्डलीमा जान निषेध रहेछ पहिले तर वि.सं.२०६२ तिर गाउँका ५/६ सय दलित समूह मण्डलीस्थान प्रवेश गरी पूजाआज गरी पाठी बली दिएपछि अहिले कोही कसै माथि त्यस्तो प्रतिबन्ध छैन । स्थानीयहरू भन्छन्, ‘अहिले पनि मण्डलीको जङ्गलमा रूख काट्न र घाँसदाउरा गर्न जाँदा बाघ कराउने गर्दछ । बाघले बेला–बेला दुःख दिने गर्दछ । हामीले टाढैबाट मण्डलीको दर्शन ग-यौँ ।

कतै ठूल्ठूला खाल्टाखुल्टी, कतै ठाडो उकालो त कतै कच्ची बाटो । करिब तीन घण्टापछि हामी मैदीको कुवापानी पुग्यौँ । मैदी इतिहासमा जोडिएको ठाउँ हो । गोरखाका राजा पृथ्वीपतिका साहिँला छोरा दलु शाहले वि.सं.१७३० स्थापना गरेका रहेछन् मैदीकोट । जो अहिले उचित संरक्षणको अभावमा अलपत्र परेको रहेछ । नामोनिसान पनि देखिँदैन मैदीकोटको । भनिन्छ, मैदीमा पृथ्वीनारायण शाहको ब्रतबन्ध भएको थियो । सो ठाउँ उच्च भेगमा रहेको हुँदा त्यहाँबाट लाङटाङ, गणेश, मनास्लु, अन्नपूर्ण, पाल्दोर पीकजस्ता हिमाली चुचुराहरू देख्न पाइँदो रहेछ ।

रमणीयस्थलहरूको भरपूर अवलोकनपछि हामी स्थानीय समाजसेवी मानबहादुर तामाङको आतिथ्यमा उनको घर पुग्यौँ । बिहानको खाना उनकैमा ग्रहण ग¥यौँ । स्थानीय चर्चभवनमा हाम्रो कार्यक्रम तय गरिएको रहेछ ।

कार्यक्रम मानबहादुर तामाङको सभापतित्वको सञ्चालित भयो । कार्यक्रमको सञ्चालन धादिङका मित्र रामप्रसाद ढकालले गरे । कार्यक्रममा विभिन्न राजनीतिक दल, महिला समूह र शिक्षक प्रतिनिधिहरूको आतिथ्य रह्यो । कार्यक्रममा सहजीकरणको जिम्मेवारी मैले नै लिएँँ । मैले संविधानको पृष्ठभूमि, नागरिकता, मौलिक हक तथा कर्तव्य, राज्यको संरचना, सङ्घीयता, न्यायपालिका तथा संवैधानिक हक र अर्का सहजकर्ता रघुनाथ खरालले कार्यपालिका, व्यवस्थापिका तथा संविधान संशोधन सम्बन्धि व्यवस्थाको बारेमा प्रकाश पा¥यौँ । सहभागी सबैले आफूलाई लागेका जिज्ञासा मज्जाले प्रकट गरे । साह्रै राम्रो छलफल भयो ।

नागरिक संवादपश्चात् हामी सबैजनासँग विदा मागेर त्यहाँबाट फर्कियौँ । ढोलाकै बाटो फर्किने सल्लाह भयो । फर्किँदा पानी प¥यो । धुलेबाटो हाम्रो कन्तविजोक भयो । कति ठाउँ मोटरसाइकलले बल्ड्याङ खायो–खायो । लड्दै–उठ्दै हामी बल्ल–बल्ल अगाडि बढ्यौँ । मूलबाटो छिचल्न एक घण्टा लाग्ने ठाउँमा तीन घण्टाको समय लाग्यो ।

ढोला पुग्दा झमक्कै रात प¥यो । ढोला मेरो पुख्र्याैली थलो । म धादिङ जाँदैछु भन्ने सुनेर ठूलो दाजु शिवलालले भनेका थिए, ‘गएको बेला ढोलाका आफन्तहरूलाई भेटेर आउनू । त्यो हाम्रो पुख्र्यौली थलो हो ।’ रातिहुँदो कता खोज्नु आफन्त ! मानिसहरू सुत्ने बेला भइसकेको थियो । तैपनि सामान्य भेटघाटचाहिँ गरियो । यतै बसौँ भनेर आफन्तजनले आग्रह गरिरहेका थिए । तथापि हामी बस्न मानेनौँ । किनकि हामी धादिङबेँसी फर्किनु थियो ।
फर्किने बेलामा बाले बनाउनुभएको पुख्र्यौली घर धेरैबेरसम्म नियालीरहेँ मैले । साथीहरूले ढिलो भयो है भन्न थालेपछि पो म झसङ्ग भएँ । म त आफ्नो पुख्र्योली थलोमा त्यसै–त्यसै भावुकिएछु । जब झसङ्ग भएँ तब आफैँलाई लज्जाबोध भयो । त्यसपछि ढोलाका सबै जना आफन्तजनसँग विदा मागेर हामी हिजो बास बसेकै होटलमा फर्कियौँ र खानपिन गरेर मस्तले सुत्यौँ…।