नुवाकोटमा कृषि विकासका सम्भावना, चुनौती र तत्कालीन दिशाबोध

डा. कमलराज गैरे

नुवाकोट जिल्लाका ९० प्रतिशत भन्दा बढी परिवारको जीविकोपार्जनको मुख्य स्रोत कृषि रहेका छ । नुवाकोटमा लगभग ५० हजार परिवारले ४२२४२ हेक्टर जमीनमा खेतीापाती गर्दै आएका छन् । क्षेत्रफलका हिसाबले नुवाकोटमा १६९१७ हे.मा मकै, १४५५० हे।मा धान, ५१३१ हे।मा कोदो, ४५६५ हे। मा गहुँ र ४३६५ हे।मा आलु खेती हुँदै आएको छ । गत वर्षमात्र नुवाकोटले रु एक अर्व भन्दा बढीको आलु उत्पादन गरेको तथ्याङ्क छ ।

यी खाद्यान्न बालीहरुका अलावा तरकारी, फलफूल, अलैंची, अदुवा, कफी, स्ट्रबेरी खेती तथा रेन्बो ट्राउट माछा पालन जस्ता आयमूलक कृषि वर्षेनी बढ्दो रुपमा भैरहेको छ । उपयुक्त हावापानी, माटो र नजिकैको काठमाण्डौ जस्तो ठूलोबजार जोड्ने तीनवटा बाटाहरु रहेको, सिंचाईमा सुधार गर्न सकिने सम्भावना भएकोले नुवाकोट जिल्ला कृषिमा अत्यन्तै सम्भावना भएको जिल्ला हो । रोजगारी प्रदान गर्ने अन्य क्षेत्रहरुको विकास नभएको वर्तमान अवस्थामा बहुसंख्यक नुवाकोटेली जनतालाई रोजगारी उपलब्ध गराउने सबैभन्दा महत्वपूर्ण क्षेत्रको रुपमा कृषि क्षेत्र रहेको छ । कृषि आयमा अझ बृध्दि गरी जनताको आयस्तरमा बृध्दी गर्न सकीने अवस्था विद्यामान छ ।

नुवाकोटका कृषकहरुलाई मोटामोटी रुपमा चार वर्गमा विभाजित गर्न सकिन्छ ।
क) व्यवसायिक कृषक: यो वर्गका कृषकहरुको संख्या ज्यादै न्यून छ । कफि, कुखुरा पालन जस्ता ब्यवसायमा केही कृषकहरु पूर्ण ब्यवसायिक रुपमा लागेका छन ।
ख) व्यवसायिक उन्मुख कृषक: यो वर्गका कृषकहरुले बजारका लागि र आफ्नो उपभोगका लागि कृषि उत्पादन गर्ने गर्दछन । यस्ता कृषकको संख्या नुवाकोट जिल्लामा बढ्दो अवस्थामा छ ।
ग) निर्वाहमुखी कृषक: नुवाकोटमा अधिकांश कृषक निर्वाहमुखी कृषिमा आवद्य छन् । उनीहरु आफ्ने उपभोगको लागिमात्र कृषि उत्पादन गर्ने गर्दछन् ।
घ) सुकुम्बासी कृषक: यो वर्गका कृषकहरुसंग खेतीयोग्य जग्गा न्यून रहेको हुन्छ र उनीहरुले अरुको जग्गामा अधियाँ वा ठेक्कामा खेतीपाती गर्ने गर्दछन ।

यो वर्गका कृषक मुखयत कृषि मजदुरको रुपामा दैनिक ज्यालादारीमा कार्यरत छन । यो परिस्थितीलाई दृष्टिगत गर्दा अबको नुवाकोटको कृषि विकासको लक्ष्य निर्वाहमुखी कृषिमा संलग्न कृषकहरुलाई ब्यवसायिक कृषि तर्फ उन्मुख गराउनु हुनजान्छ । व्यवसायिक कृषकहरुले बजारको माग अनुसार कृषि उत्पादन गरी आय आर्जन गर्न सक्दछन । सुकुम्बासी कृषकहरुलाई कृषि ज्यालादरमा सुधार गर्ने र करारमा खेती जस्ता कार्यक्रमगत र नीतिगत सुधार गरी सम्बोधन गर्न जरुरी छ ।

विगत केही वर्षको सरकारी र गैर सरकारी प्रयासबाट नुवाकोटका कृषकहरु ब्यवसायिक कृषिमा आवद्य भई आय आर्जनमा संलग्न रही आएको विद्यमान अवस्थामा यस्ता कृषकहरुको आयमा देखिने गरी बृद्यि गर्नु अर्को चुनौति हो । कृषकहरुले अनुभव गर्ने गरी आयमा बृद्यि हुन नसके अनुभवी र तालिम प्राप्त ब्यवसायिक कृषकहरु कृषिबाट पलायन हुने खतरा रहन्छ ।

अर्को तर्फ युवावर्गलाई कृषिमा आकर्षित गर्न सकिएको छैन । कृषिलाई सम्मानजनक पेशा बनाई युवाहरुलाई आकर्षित गर्नु अर्को महत्वपूर्ण चुनौति रहेको छ ।

व्यवसायिक उन्मूख कृषकहरुलाई मुख्य रुपमा निम्न तरिकाले सहयोग पु¥याउन सकिन्छ ।
क) गुणस्तरिय मल, बीउ, विषादी, सिंचाई र यान्त्रिकिकरण सहितको प्रविधिको उचित संयोजनबाट कृषि उत्पादन बृद्यि गर्ने
ख) ढुवानी, प्याकेजिङ्ग, भण्डारण लगायतका बजारीकरण सहयोग मार्फत पोष्ट हार्भेष्ट लस कम गर्ने र बजारमा विचौलीया नियन्त्रण गरी कृषकले उचित मूल्य पाउने वातावरण सृजना गर्ने ।
ग) कृषिलाई सम्मानजनक पेशााको रुपामा विकासित गर्न राजनैतिक इच्छाशक्ति विकास गर्ने र बाँझो जग्गामा खेती गर्न कृषकहरुलाई प्रोत्साहन गर्ने ।

यी नै वास्तविकताहरुलाई मध्येनजर गर्दा नुवाकोटमा स्थानिय तह, प्रदेश सरकार र केन्द्र सरकारले तत्काल र मध्यम अवधिका लागि निम्न कार्यक्रमहरु संचालन गर्नु पर्ने देखिन्छ ।

१) काठमाण्डौ उपत्यकामा ताजा तरकारी र फलफूलको बढ्दो मागलाई दृष्टिगत गरी जिल्लामा ताजा तरकारी र फलफूल उत्पादनलाई अभियानका रुपमा संचालन गर्ने ।
२) सुलभ ब्याजदरमा प्रवाहित भैरहेको कृषि रिणलाई थप सहज र प्रभावकारी बनाउने ।
३) कृषि विमा कार्यक्रमलाई कृषकको घरदैलोमै उपलब्ध हुने गरी सहज बनाउने ।
४) निर्वाहमुखी कृषिमा संलग्न कृषकहरुलाई ब्यवसायिक कृषिमा लाग्न यस्ता कृषकले सिधै अनुभव गर्न सक्ने गरी प्रोत्साहनको ब्यवस्था गर्ने । उत्पादनमा आाधारित अनुदान एउटा विकल्प हुन सक्छ ।
५) युवाहरुलाई कृषिमा आकर्षित गर्न र कृषि उत्पादन लागत कम गरी नुवाकोटे उत्पादनहरुलाई प्रतिस्पर्धि बनाउन कृषि यान्त्रिकिकरण, साना सिंचाई, प्लास्टिक पोखरी, ढुवानीका साधन, प्याकेजिङ्ग, ग्रेडीङ्ग आदिमा अनुदान उपलब्ध गराउने ।
६) छिमेकी देश चिनको तिब्बत क्षेत्रमा ताजा तरकारी र फलफूल निर्यात सम्भावना समेतलाई दृटिगत गरी नुवाकोटमा सुविधा सम्पन्न कृषि उपज संकलन केन्द्र तथा क्षेत्रिय स्तरको थोक बजार स्थापना गर्ने ।
७) रेन्बोट्राउट, अर्गानिक आर्थोडक्स चिया, अर्गानिक कफि, अर्लैचि, अदुवा, स्ट्रबेरी जस्ता नगदेबालीलाई कृषि पर्यटन संग जोडी उत्पादन र बजारीकरणमा प्रोत्साहन गर्ने ।

यसका लागि स्थानिय तह, प्रदेश सरकार र केन्द्र सरकारबाट संचालन हुने कृषि विकास कार्यक्रमहरुलाई समन्वयात्मकरुपमा संचालन गरी नतिजामूलक बनाउन जिल्ला स्तरमै समन्वय र प्रविधि आदान प्रदान सहज बनाउन अत्यन्तै जरुरी देखिन्छ ।

-लेखक जिल्ला कृषि विकास कार्यालय, नुवाकोटका वरिष्ठ कृषि विकास अधिकृत हुन् ।