नृत्यमा त्रिशूली सामुदायिक पहिलो

नुवाकोट । पाँचौं नुवाकोट महोत्सवमा आज विद्यालयहरुबीच नृत्य प्रतियोगिता आइतबार सम्पन्न भएको छ । महोत्सवस्थलमा आयोजित नृत्य प्रतियोगितामा २० वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा त्रिशूली सामुदायिक बोर्डिङ स्कूल पहिलो, सूर्यज्योती ऐकेडेमी दोस्रो, जेडी स्कूल तेस्रो र विदुर कल्याणकारी बोर्डिङ स्कूल सान्त्वना भएको छ । पहिलो हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाईै ७ हजार र सान्त्वनालाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको नुवाकोट उद्योग वाणिज्य संघका प्रवक्ता सन्तोष उप्रेतीले जानकारी दिए ।

यस्तै आइतबार महोत्सवमा ५ हजार २ जना दर्शक टिकट काटेर प्रवेश गरेका थिए । स्थायी पास, सदस्यता पास सहित आज करिब १० हजार जनाले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

आइतबार रमेशराज भट्टराई, अमृता लुंगेली मगर लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुती देखाएका थिए ।