स्थानीय सरकारको अधिकारको खोजी

बेलकोटगढी

स्थानीय सरकार कार्यान्वयनमा आएको एक वर्षपछि स्थानीय सरकारको भूमिका र समन्वयलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी बेलकोटगढी नगर कमिटिको आयोजनामा देवीघाटमा शुक्रवार र शनिवार जनप्रतिनिधि र राजनीतिक दलका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा बोल्दै स्थानीय तह पुर्नसंरचना आयोगका प्रमुख बालानन्द पौडेलले स्थानीय तहले प्राप्त गरेका अधिकारहरु कार्यान्वयनको लागि ऐन नियम बनाएर मात्र प्रयोग गर्न सुझाव दिनुभयो । उनले संविधानले दिएको प्राप्त अधिकार प्रयोग गर्ने नाममा संविधानसँग बाँझिने र हचुवाको भरमा प्रयोग गर्दा वैधानिक नहुने बताए । ‘योजना निर्माण र जनसरोकार को विषयमा प्रशिक्षण दिँदै संविधानको अनुसुची ८ मा तोकिएका अधिकारहरु प्रयोग गर्दा बनाउनुपर्ने सबै कानुन स्थानीय तहले बनाउन सक्ने भएपनि अनुसुची ९ मा उल्लेख भएका अधिकारहरु प्रयोग गर्न बनाउनुपर्ने कानुन संघ र प्रदेशको समेत स्वीकृति लिनुपर्ने बताए । योजना निर्माण गर्दा लेखाजोखा गरेर मात्र नागरिकलाई बढी फाइदा हुने खालका योजना सञ्चालन गर्न उनले सुझाव दिए । उनले विकासका योजनासहित सामाजिक विकासका शिक्षा, स्वास्थ्य र जनचेतनाका शिर्षकमा पनि कार्यक्रम समावेश गर्न जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद केशव पाण्डेले समृद्ध बेलकोटगढी निर्माणको लागि कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिँदै बेलकोटगढी नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योगहरुको बारे चर्चा गरेका थिए । कानुनविद् जगन्नाथ लामिछानेले स्थानीय तहको कानुन र कानुन प्रयोग गर्ने विधिको बारेमा चर्चा गर्दै स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने विषयहरुको बारेमा चर्चा गरेका थिए ।

दुई दिनसम्म देवीघाटस्थित ज्येष्ठ नागरिक अध्ययन केन्द्रमा सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा नेकपा एमाले नुवाकोटका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद नारायणप्रसाद खतिवडाले जनप्रतिनिधि र पार्टीवीचको सम्वन्ध र समन्वयको बारेमा चर्चा गरेका थिए । प्रशिक्षणमा पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, पार्टीका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।