लाङटाङ साहित्यिक पदयात्रा–२०७५

-अधिवक्ता फुर्पा तामाङ

 १. पदयात्राको परिकल्पना र उद्देश्य :

मैले पत्रिकाहरुमा रसुवा सम्बन्धी र अन्य विषयका समसामयिक लेखहरु लेख्न थालेपछि धेरैजनासंग चिनजान हुन थाल्यो । जोसंग परिचय भए पनि सबैले फुर्पाजी मलाई/हामीलाई तपाईंको लाङटाङ कहिले लैजाने ? एउटा साहित्यिक कार्यक्रम गर्नुस्, हामी आउँछौं, भन्नुहुन्थ्यो । हुन पनि धर्तीकै भूस्वर्ग जस्तो नजिकैको पर्यटकीय गन्तव्य सुन्दर लाङटाङमा म आफूले मात्र गएर हुँदैन । साहित्यिकारहरुलाई लैजान सके त्यो सुन्दरता साहित्यमा उनिन्छन् र लेखहरु पढेर लाङटाङ घुम्न आउनेहरुको संख्यामा बृद्दि हुनेछ भन्ने लाग्थ्यो । सात समुद्र पारिबाट विदेशीहरु आउँछन् तर हामी नजिकै भएर पनि जाँदैनौं । आफ्नै देशको रमणीय गाउँठाउँ घुम्ने संस्कृति पनि बसाल्नु पर्छ जसले आन्तरिक पर्यटन विकासमा सहयोग मिल्छ । वेत्रावती निवासी ललितकला विधाका भाइ सशीकुमार डंगोलसंग चिनजान भएदेखि जतिखेर पनि लाङटाङ जाने कुरा झिक्थ्यो । नुवाकोट महोत्सवको बेला कवि क्षितिज थापामगर र काठमाडौंमा कवि आर.एम. डंगोलसंग भेट हुँदा यी दुईले पनि लाङटाङ जाने इच्छा व्यक्त गरे । यसैगरी धादिङका कवि दिपेन्द्र सिंह थापाले लाङटाङ जाने इच्छा फोनमा गरिरहनुहुन्थ्यो । नुवाकोटकै कवि श्याम रिमालले त धेरै वर्ष अघि देखि कार्यक्रम गरौं, म पनि जान्छु भन्नुहुन्थ्यो । रसुवाकै साथीभाइहरुले पनि लाङटाङ जाने इच्छा व्यक्त गरेपछि मैले यो कार्यक्रमको नेतृत्व किन नगर्ने त ? हामी आफैंले ६–७ दिनको खर्च गरेर आत्मा सम्मानका साथ पर्यटकीय गन्तव्य लाङटाङ किन नजाने ? आन्तरिक पर्यटन प्रवर्धनमा किन योगदान नगर्ने ? भूकम्पमा परेर मृत्यू हुनेहरुको सम्झनामा लाङटाङ गाउँमै पुगेर कविता वाचन गरेर मृतकहरु प्रति सम्मान किन नगर्ने ? भन्ने लागेर नै साहित्यिक पदयात्रा आयोजना गरिएको हो । मुलतः लाङटाङ साहित्यिक पदयात्राको मुख्य उद्देश्य ‘भूकम्प पश्चात पनि लाङटाङ क्षेत्र पर्यटकहरुको लागि सुरक्षित छ भन्ने सन्देश दिनु हो ।’

  २. पदयात्रामा सहभागी हुनेहरु :

पदयात्रामा सहभागी हुनको लागि धादिङबाट दिपेन्द्रसिंह थापा, काठमाडौंबाट अभिषेक अधिकारी, ओखलढुंगाबाट विश्वास सुनुवार, नुवाकोटबाट भीमसेन पाण्डे, बुद्धिलाल चित्रकार, शिवप्रसाद पुडासैनी, संजोग डंगोल, सुजिना लवट, रसुवाबाट फुर्पा तामाङ, सशी कुमार डंगोल र विजया तिवारी संलग्न थिए ।

 ३. एक मीनेट मौन धारण गरी कविता वाचन

२०७२ साल वैशाख २९ गतेको भूकम्पमा परी दिवंगत हुनुभएका १७५ जना लाङटाङबासी, स्वदेशी एवं विदेशी पर्यटकहरुको सम्झनामा एक मीनेट मौन धारण गरिएको थियो । लाङटाङ गाउँको मध्यभागमा रहेको ढुंगामा रंगपोतेर स्थानीय गाउँलेहरु भेला गरी गरी दिपेन्द्र सिंह थापा, अधिवक्ता फुर्पा तामाङ, अधिवक्ता अभिशेक अधिकारी, भीमसेन पाण्डे, संजोग डंगोल, सुजिना लवट र विजया तिवारीले कविता वाचन गरेका थिए ।

४.निशुल्क साइनबोर्ड र भित्ते लेखन :

यात्रामा संलग्न ललितकलाका कलाकारद्वय सशी कुमार डंगोल र भीमसेन पाण्डेले यात्राभरि ‘वातावरण र संस्कृतिको संरक्षण गरौं, साहित्यिक पदयात्रा गरी पर्यटन विकासमा योगदान गरौं’ जस्ता नाराहरु पैरो, बोम्बो लज, लामा होटल, घोडा तबेला, लाङटाङ गाउँ र क्याङजेनमा रहेको ढुंगाहरुमा रंग पोतेर लेखेका थिए । यसैगरी लामा होटल, घोडा तबेला र क्याङजेनको दुईवटा होटलमा निशुल्क साइनबोर्ड लेखिदिएका थिए ।

 ५. पदयात्राका रमाइला क्षणहरु :

     मनकारी दिण्डुप जाङ्बा तामाङ दाइ : दोस्रो दिन हाम्रो बास घोडा तबेलामा भयो । घोडा तबेलामा दुईवटा होटल छन् । दिण्डुप दाइको होटलमा दुईजनाका लागि एकवटा कोठा रहेछ । ९ जनाको लागि निमा लामाको होटलमा बास हुने भयो । राति म र दिण्डुप दाइ एउटै कोठामा सुत्यौं । मित्र विश्वास सुनुवार, अभिषेक अधिकारी र मैले खाएको र सुतेको पैसा लिन मान्नुभएन । यस्तो पो मनकारी त । फर्किने बेलामा खाएको चिया र कफीको पनि पैसा लिनुभएन । दिण्डुप दाइको व्यवसाय अझ फस्टाओस् भनेर मनले आर्शिवाद दिएँ र मुखले धन्यवाद ।

     चौंरी गाईको दुधै स्वादिलो : घोडा तबेलामा तेन्जीन लामा दाइको चौंरीगोठ रहेछ । अभिशेक अधिकारी, विश्वास सुनुवार, दिपेन्द्र सिंह थापा उहाँको गोठमा गएर तातो दूध खायौं । उहाँले पनि पैसा लिन मान्नुभएन । उहाँको १७ वटा चौंरीगाई रहेछन् । चौंरीको संख्या बढोस् भन्ने आर्शिवाद दियौं र धन्यावाद भन्यौं । दुग्ध विकास संस्थानले दूध संकलन नगरिदिँदा उनी लगायत लाङटाङका चौंरी पालक किसानहरु मर्कामा रहेछन् । संस्थानले दूध संकलन गरिदिए दूध बेचेर केही नगद आम्दानी गर्ने आसामा किसानहरु पर्खिबसेका रहेछन् ।

     पदयात्राभरि रातो वाँदर, डेंढु वाँदर, चील, मलेवा, वँदेल, घोरल, लोखर्के, थरिथरिका पुतलीहरु बाटाभरि देखिन्थ्यो ।

     सुन्दर भूदृश्य : पदयात्रामा देखिएका सुन्दर भूदृश्यले मनै फुरुङ्ग पारिरह्यो । कलकल बग्ने लाङटाङ खोला, बाटाभरि फुलेका सेता, छिर्बिरे, गाढा रातो, प्याजी, गुलावी रंगका गुराँस, भूइँफूल, सल्लो, धुपी सल्ला र आँखै नजिक टाँसिन आइपुग्ने लाङटाङ लिरुङ, गङक्षेम्बो, दोर्जे ल्हाक्पा हिमाल देखेपछि शहरको प्रदुषित वातावरणमा फर्केर नजाऊँ जस्तो लागिरहन्थ्यो ।

     मुस्कान सहितको स्वागत : बाटाभरि जो भेटे पनि र होटलका साहुजी, साहूनी, भान्से तथा काम गर्ने कामदारहरुको मुस्कान सहितको कुरा गर्ने व्यहोरा साह्रै राम्रो लाग्यो । लामा होटलको फ्रेन्डली गेष्टहाउसकी भान्से साइँली तामाङ र क्याङ्जेनको टिबेट गेष्टहाउसकी भान्से याङ्की शेर्पेनीले होटलमा बस्नेहरुलाई मृदुभाषीमा गर्ने कुराकानी र छरितो सेवाको पदयात्री सबैले सह्राना गरे ।

     सबैको प्यारो ग्याल्बो दाइ : क्याङजेनबाट हामीलाई स्वागत गर्न टिबेट गेष्टहाउसका साहूजी ग्याल्बो तामाङ लाङटाङ गाउँसम्म आउनुभयो । बाटाभरि भूकम्पको बेलाको कुराहरु बताउनुभयो । उनी प्रत्यक्षदर्शी रहेछन् । फर्किने बेलामा हामीलाई खादा लगाएर विदाई गर्नुहुँदै लाङटाङ गाउँसम्म पु¥याउन आउनुभयो । तीन दिनको बसाईमा ग्याल्बो तामाङ सबैका प्यारो दाइ भएको थियो ।

     मीठो रक्सी र छ्याङ : माथि जाने बेलामा मुन्डु गाउँमा रहेको मेरो ससुरा र सासूको मीतमितिनी (पेमा लामा धोमरे दम्पति) लाई भेट्न गयौं । मितिनी सासूआमाले मित्र दिपेन्द्र सिंह थापा र मलाई चौंरी गाईको दूध दिनुभयो । साँझ क्याङ्जेनमा एकजना भाइले करुको दुईबोतल रक्सी बोकेर आएका रहेछन् । मितिनी सासूआमाले मलाई भनेर करुको रक्सी पारेर आफ्नो नातिलाई पठाउनुभएको रहेछ । अरु कसैले पिएनन् । ग्याल्बो र मैले पियौं । स्वादिलो र कडा थियो । घरमा तुरुन्तै रक्सी पारेर ख्वाउनु भनेको पाहुनालाई ठूलो सम्मान दिनु हो । केहीवर्ष अघि जाँदा पनि उहाँले यस्तै गर्नुभएको थियो । धन्यवाद मितिनी सासूआमालाई । क्याङजेनसम्म उक्लिँदा दुखेको जीउ र खुट्टाको दुखाइ रक्सी पिएपछि कता भाग्यो थाहा भएन । भोलिपल्ट रातभरि पानी र हिँउ प¥यो । विहान उठ्दा वरिपरि सबै सेताम्मे । मित्र ग्याल्बोले उहाँको दुईजना बहिनीको घरमा लैजानुभयो । त्यहाँ पनि छिप्पिएको चामलको छ्याङ नखाइ सुखै पाइएन । जुस पिए जस्तै गुलियो तर कडा थियो । बाहिर हिउँ परिरहेको थियो । जाडोले साथीहरु सिउसिउ गर्दै थिए । ग्याल्बो र मलाई भने हिउँको चिसोबाट छ्याङले जोगाइदियो । फर्किँदा लाङटाङ गाउँको मेमोरियल गेष्ट हाउसकी साहूनी बहिनीले त्यस्तै मीठो छ्याङ नख्वाई मान्दै मान्नुभएन ।

     साहसी दुई बहिनी : पदयात्रामा ६ दिनसम्म पुरुषहरुसंग हिंड्ने आँट भएका दुईजना बहिनीहरु मात्रै भेटिए । ती थिए विजया तिवारी र सुजिना लवट । सुजिना निकै हिंड्न सक्ने रहिछन् । उनी जाँदा पनि र फर्किँदा पनि अघिअघि । विजया भने साहित्यमा निकै रुची भएकी महिला । तिवारी बहिनीको समाज सेवा र राजनीतिमा निकै सौख रहेछ ।

     चुस्त, सहयोगी र मिलनसार समूह : कार्यक्रम आयोजनाको अन्तिम अवस्थामा पुग्दा ४० देखि ५० जना सम्मले जाने इच्छा व्यक्त गरेका थिए । व्यवस्थापनमा कमजोरी हुन्छ कि ? भन्ने मनमा लागिरहेको थियो । यात्राको अघिल्लो दिनसम्म जम्मा ११ जनाले भाग लिने अन्तिम जानकारी दिए । थोरै संख्या हुँदा सजिलै भयो । यात्राभरि कुनै समस्या आइपरेन । नचाहिने कुरा झिकेर वादविवाद भएन । सबैजनाको मनमा सकारात्मक सोच बढी भएको पाइयो ।

     सस्तो पदयात्रा : पदयात्रामा सहभागी हुनेले दैनिक रु. पन्ध्रसय बाटो खर्च बोक्नु पर्छ भनिएको थियो । यद्यपी यति पनि खर्च भएन ।

६. नरमाइलो क्षण :

     हिमाली ट्रकको गन्ध : बाटाभरि भारी बोक्ने सयौंको संख्यामा खच्चर र घोडा (हिमाली ट्रक) ले हगेर नाकै पोल्ने गन्ध आइरह्यो । त्यो गन्धले प्राकृतिक सुगन्धलाई पनि चुनौति दिइरहेकोथ्यो । गोरेटा बाटाहरु खच्चरको कुदाइ र हिंडाइले ठाउँठाउँमा भत्किसहेका रहेछन् ।

     लाङटाङ गाउँ अझै असुरक्षित : लाङटाङ गाउँ भने अझै असुरक्षित भएको अनुभूति भयो । टासी गोमाङ क्षोर्तेन देखि माथि घरहरु बनाएर बस्न थालेका रहेछन् । हिउँ पहिरोले खण्डहर बनाएको दृश्य कहाली लाग्दो नै छ । हिमपहिरोले वारिको गाउँ देखि पारिको जंगल पूरै ध्वस्त भएको रहेछ ।

     आँखा रसायो, गला अवरुद्ध भयो : भूकम्पमा परेका मृतकहरुको स्मृतिमा कविता वाचन गरिरहँदा मृत्यू भएका साथीहरु र चिनेका व्यक्तिहरुको अनुहार आँखाभरी छाइरह्यो । आँखा रसाएर आयो । गला अवरुद्द भयो । ७ पृष्ठको मेरो कविता सबै वाचन गर्न सकिएन ।

७. पदयात्रा शुरु र समापनः

साहित्यिक पदयात्रा वैशाख २७ गते १२:३० बजे ठूलो भार्खुबाट ठूलो स्याफ्रु गाउँ हुँदै जाने भनिए पनि काठमाडौंबाट आउने सहभागीहरुलाई बसले ढिलो ल्याई पु¥याउँदा बाटो परिर्वन गर्नु प¥यो । अनि हामीले पदयात्रा स्याफ्रुवेशीबाट शुरु ग¥यौं । सो दिन हामीले गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५, पैरो भन्ने स्थानमा गएर बास बस्यौं । दोस्रो दिन वैशाख २८ गते विहान ६:१५ बजे बोम्बो लज, रिम्च्ये, लामा होटल, क्षुनामा हुँदै घोडा तबेलामा बास बस्न गयौं । तेस्रो दिन वैशाख २९ गते विहान ६:३० बजे थङ्श्याफ, कङतङ्सा हुँदै लाङटाङ गाउँ पुगेपछि विहानको खाजा खाएपछि मृतकहरुको सम्झनामा कविता वाचन गरियो ।  नुमथाङ, मुन्डु, शिन्दुम, नेसपली हुँदै क्याङजेनमा बास बस्न पुग्यौं । चौथो दिन वैशाख ३० गते क्याङजेनमा आराम गर्यौं । केही सहभागीहरुले क्याङजेन–री चढे । पाँचौं दिन वैशाख ३१ गते विहान ८ बजे हिंड्न शुरु गरी साँझ ६:३० बजे रिम्च्येबाट शेर्पागाउँ (श्यारपाको) मा बास बस्न गयौं । छैठौं दिन जेठ १ गते विहान ६:३० बजे शेर्पागाउँबाट खाङजिम हुँदै ओराले झरेर स्याफ्रुवेशी आयौं । स्याफ्रुवेशीको केरुङ होटलमा खाना खाँदै यात्राको समीक्षा गरेर समापन गर्यौं । त्यसपछि सहभागी पदयात्रीहरु आ–आफ्नो घरतिर लागे ।

२०७५।२।४

phurpatamang10@gmail.com