कर्मचारी अभावले काम गर्न समस्या भएको छ

-योविन्द्रसिंह तामाङ, अध्यक्ष

दुप्चेश्वर गाउँपालिका, नुवाकोट

गाउँपालिका सञ्चालन भएको एक वर्ष पुगेको छ । यो बीचमा तपाईका प्रतिवद्धताहरु कहाँ पुग्यो ?

एक वर्षको समयमा मैले निर्वाचनको बेला गरेका सबै प्रतिवद्धताहरु  पूरा नभएपनि तुलनात्मक रुपमा धेरै काम भएको छ ।

ती योजनाहरु कति पूरा भयो ? कति बाँकी छन् ?

हामीले सडकलाई प्राथमिकतामा राखेर ७० प्रतिशत बजेट पनि यही शीर्षकमा विनियोजन भएको थियो । चार÷पाँच वटा वस्तीमा सडक पुगेको थिएन । ती वस्तीमा सडक पु¥याउने काम भएको छ । त्यस बाहेक अन्य विकासका कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन् ।

अहिले गाउँपालिकाको मुख्यमुख्य योजनाहरु के के छन् ?

हाम्रो गाउँपालिकाको मुख्य योजना सडक नै हो । दोस्रोशिक्षा तेस्रो विद्युतीकरण र सिंचाईको कामलाई हामीले प्राथमिकता दिएर काम गरिरहेका छौँ ।

दुर्गम क्षेत्र पनि तपाईको गाउँपालिकामा रहेको छ । तपाई अध्यक्ष हुँदा यस भेगका वासिन्दाले कस्तो अनुभुती गर्न पाउनेछन् ?

यस अघि हिउँदमा बनेका सडक वर्षाको समयमा आएको भेलसँगै बगेर जाने अवस्था रहेको थियो । अहिले हामीले योजना बनाएर रणनैतिक योजना बनाएर पाँच वटा सडक विभाजन गरेर कालोपत्रेसमेत गर्ने योजना अघि सारेका छौँ । हाम्रो गाउँपालिका पर्यटकीय रुपमा समेत महत्वपूर्ण रहेकाले पर्यटन विकाससँग सम्वन्धित कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौँ । पिकनिक स्थलको पनि राम्रो सम्भावना रहेको छ । म यो पाँच वर्षको अवघिमा यी सबै कुराहरुलाई व्यवस्थित बनाएर अघि बढ्ने छु ।

गाउँपालिका सञ्चालनको आफ्नै स्रोतको पनि खोजी भइरहेको होला नी ?

हाम्रो गाउँपालिका जलस्रोतको धनी गाउँपालिका हो । यहाँ  ६ वटा जलविद्युत आयोजना बन्ने कुरा छ । तीन वटा त निर्माणाधिन अवस्थामा रहेका छन् । जलविद्युत आयोजनाबाट पनि राजश्व उठाउन सकिन्छ । पर्यटनको लागि पनि यो गाउँपालिका निकै महत्वपूर्ण र पर्यटन विकासको लागि उर्वर भूमि हो । कुटुङसाङ, गोल्फुभन्ज्याङ र घ्याङफेदी अत्याधिक पर्यटक आउने क्षेत्रमा पर्दछन् । उनीहरुबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । राष्ट्रिय निकुञ्जका साथै जडिवुटी पनि राम्रो उत्पादन गर्न सकिन्छ । यसबाट पनि गाउँपालिकालाई आम्दानी हुन्छ ।

यी काम गर्नको लागि गाउँपालिकाकाले कस्तो योजना बनाएको छ ?

हामीले यस आवमा हतारहतारमा योजना बनाएका थियौँ । तर पनि यी क्षेत्रहरुमा आंशिक रुपमा भएपनि संवोधन हुने गरी बजेट छुट्याएका छौँ । अव आउने आव २०७५÷०७६ को गाउँसभामा यी क्षेत्रमा बजेट विनियोजन योजनावद्ध रुपमा काम हुने गरी आवश्यक बजेट छुट्याउने छौँ ।

गाउँपालिकामादरवब्न्दी अनुसारको कर्मचारी छन् कि छैनन् ?

दुई जना मात्र कर्मचारी मात्र छ । सहलेखापाल र प्रशासकीय अधिकृत मात्र रहेका छन् । स्वास्थ्य र महिला विकासको पनि एक एक जना कर्मचारी  छन् । संविधान लेख्दै गर्दा एउटा गाउँपालिकामा ७५ जनासम्म कर्मचारी रहने छन् भनिएको थियो । यो बीचमा पटक पटक मन्त्रालयसँग कुरा गर्दा उहाँहरुले एक साताभित्रै हुने जानकारी दिनुहुन्छ । तर, अहिलेसम्म कर्मचारीको व्यवस्थापन हुन सकेको छैन । एक वर्ष बितिसक्दा पनि कुनै प्रगती हुन सकेको छैन ।

कर्मचारी नहुँदा नियमित काममा कस्तो प्रभाव परेको छ ?

कर्मचारी नहुँदा योजनाहरु कार्यान्वयनको लागि समस्या भइरहेको छ । नागरिकसँग सरोकार राख्ने विषयहरु छिटो, छरितो र पारदर्शी रुपमा हुन सकिरहेको छैन ।

तपाईको गाउँपालिकामा अन्य पार्टीबाट विजयी हुने वडा अध्यक्षहरु पनि छन् । यसले गर्दा काम गर्नमा कुनै समस्या भएको छ कि छैन ?

दुप्चेश्वर गाउँपालिकामा कुनै पनि वडा अध्यक्षहरुको असहयोग भन्ने कुरा छैन । गाउँकार्यपालिकाका सबै सदस्यहरुले सहयोग गरिरहनु भएको छ । गाउँपालिकाको काममा सबैको साथ र सहकार्य रहेको छ ।

 मानव वेचविखन प्रभावित क्षेत्रको रुपमा पनि यो क्षेत्र चिनिन्छ । यसलाई नियन्त्रण गर्नको लागि कसरी काम भइरहेको छ ?

मानव वेचविखन दुप्चेश्वर हो भनेर तपाईहरुले भनिरहनु भएको छ । यो कुरामा मेरो असहमति रहेको छ । मानव वेचविखन नेपालबाटै भइरहेको छ । कसैले श्रम वेचिरहेका छन् भने कसैको शरीर नै बिक्री भइरहेको छ । यो गाउँपालिकाको एउटा वडालाई देखाएर कतिपय एनजिओहरुले खेती गरिरहेका छन् । यहाँको अवस्थालाई देखाएर आफैं बन्नको लागि पनि दुप्चेश्वर देखाउने गरिएको भन्ने मलाई लागेको छ ।

 प्रहरीकै रेकर्ड अनुसार पनि दुप्चेश्वरका महिला हराउनेमा बढी छन् नि ?

हामीले स्थानीय सरकारको जनप्रतिनिधि भइसकेपछि पनि केही महिलाहरु हराएको भन्ने मौखिक रुपमा जानकारी त आएको छ । तर, लिखित रुपमा अहिलेसम्म जानकारी आएको छैन । त्यसैले बाहिर भनिएजस्तो हो भन्ने मलाई लाग्दैन ।

गाउँपालिकाले केही कार्यक्रम बनाएको छ ?

हामीले मानव वेचविखन नियन्त्रणको लागि केही बजेट छुट्याएर गाउँगाउँमा मानव वेचविखनको बारेमा जनचेनता फैलाउनका लागि कार्यक्रम बनाएका छौँ । अव छिट्टै यो कार्यक्रम पनि सञ्चालन हुन्छ ।

 स्थानीयवासीको माग अनुसारको कार्यक्रम सञ्चालन गर्न सकिन्छ कि सकिँदैन जस्तो लाग्छ तपाईलाई ?

जनताले आसा गरेको विषय पूरा नहुनुमा कर्मचारी नहुनु नै मुख्य बाधकको रुपमा रहेको छ । अहिले गाउँपालिकालाई आउने बजेट तुलनात्मक रुपमा धेरै रहेको छ । यो भन्दैमा यो बजेट प्रर्याप्तता होइन । हिजो एक लाख रुपैयाँको लागि काठमाडौं धाउनुपर्ने अवस्थामा थियो अहिले दशदश लाखका योजना हामी आफैं सञ्चालन गर्न सक्ने भएका छौँ । तर, पनि सबै कुराहरु विस्तारै व्यवस्थापन हुँदै जान्छन् होला भन्ने मलाई लागेको छ ।

गाउँपालिकाभित्र केन्द्रीय योजनाहरु धेरै अपूरो रहेको भन्ने गुनासो पनि सुनिएको छ ? यी योजना पूरा गर्न गाउँपालिकाले कसरी काम गरिरहेको छ ?

हाम्रो गाउँपालिकामा केन्द्रीय बजेटका चार वटा योजनाहरु रहेका छन् । समुन्द्रटार–घ्याङफेदी मोटरबाटो, अर्को समुन्द्रटारको पुल,समुन्द्रारदेखि गोल्फुभन्ज्याङ सडक रहेको छ । गाउँपालिकाले जुन–जनु निकायबाट यी योजना सञ्चालनमा छन् ती निकायलाई पत्राचार गरेर झकझक्याउने काम गरिरहेको छ । त्यही भएर होलाअहिले तिब्र गतिमा यी योजनाको काम भइरहेको छ ।

अन्तमा केही भन्नु छ ?

कर्मचारीको पर्याप्त नभएका कारण हामीले सोचेअनुसारको सेवा दिन सकिरहेका छैनौँ । हामीले आफ्नै स्रोत साधनबाट वैकल्पिक व्यवस्था गरेर गाउँपालिकाको नियमित कामलाई निरन्तरता दिन लागिरहेका छौँ । यसैले धैर्यताका साथ गाउँपालिकालाई गाउँपालिकाको विकासमा सहयोग गरिदिनुहुन सबै गाउँवासीलाई अनुरोध गर्दछु ।