किनबेच रङ्हरु

रञ्जित जि.सी.

 सिङ्गो ब्रह्माण्डभित्र ग्रहहरु

ग्रहहरु भित्रको पृथ्वी

पृथ्वीभित्र जल थल

अनि

जल र थल भित्रका हर चिज

के चैँ किनबेच हुँदैन ??

मंगल ग्रहको जमीन

समुन्द्रको पानी

त्यसभित्रका जीव जीवात्मा

झार पात माटो ढुंगा

अझ हिरा मोती त्यहीँ छन्

त्यहाँबाट बाहिर निस्किऔँ

जमीनमा छिरेपछि

बाँकी केहि होला जो बिक्दैन

वा भनौ किनिदैन???

यो माटो

यो ढुंगा

यो काठपात

यो चिरवीर चरीहरु

यो गैंडा, बाघ, हरिण, चित्तल, बाँदर……

यी सब बिक्रिमा छन्

अनि किन्नेहरुको त्यस्तै तछाडमछाड

किनबेचका रंगहरु फरक होलान्

तर जहिँतहिँ छ यो व्यापार

विद्या बेचिन्छ

विद्यार्थी किनिन्छ

प्राण बेचिन्छ

अङ्ग किनिन्छ

न्याय बेचिन्छ

वकिल किनिन्छ

मूर्ति बेचिन्छ

धर्म किनिन्छ

खेल बेचिन्छ

खेलाडी किनिन्छ

चाल बेचिन्छ

चालक किनिन्छ

ईमानदारिता बेचिन्छ यहाँ

भण्डार किनिन्छ

अचेल त

हो अचेल त

किनबेचले अझ फड्को मारेछ

अझ फस्टिएछ

अझ माथि पुगेछ

यहाँ बेचिन्छन्

मूल्यहरु

मान्यताहरु

संस्कृतिहरु

भेषभूषाहरु

चालचलन रितिरिवाजहरु

अनि किनिन्छन् मान्छेहरु

सुन्छु अचेल त

पैसा पनि किनिन्छ बेचिन्छ ।

 गढवा–१, दाङ ।

हालः वि.न.पा.–४, विदुर