एकिकृत बस्ती समुदायलाई हस्तान्तरण

नुवाकोट । नेपाल भूकम्प पुर्नलाभ तथा पुनःनिर्माण कार्यक्रम अन्तर्गत रहेर अन्तर्राष्ट्रिय गैर सरकारी सस्था अक्सफामको आर्थिक तथा प्राविधिक सहयोगमा सहायता सामाजिक संस्थाले निर्माण गरेको तीन एकिकृत बस्ती समुदायलाई हस्तान्तरण गरिएको छ ।

विदुर नगरपालिका वडा नम्बर ९ मा निर्माण गरिएको वोर्थोक घलेटोल एकीकृत बस्ति र किस्पाङ गाउँपालिका वडा नम्बर ५ शान्तिबजारमा निर्माण गरिएको शान्तिबजार एकिकृत बस्ति र तल्लो शान्तिबजार एकिकृत बस्ति समुदायलाई हस्तान्तरण गरिएको छ । भाल्चेका बिस्थापितहरुका लागि वोर्थोक घलेटोल एकीकृत बस्तिमा १८ घर र रसुवाको विभिन्न बस्तिबाट बिस्थापित भएकाहरुको लागि शान्ति बजार एकिकृत बस्तिमा १६ र तल्लो शान्ति बजार एकिकृत बस्तिमा २१ घर निर्माण गरेर हस्तान्तरण गरिएको हो ।

एकीकृत बस्तिको एउटा घर निर्माण गर्न ७ लाख रुपैयाँ लगानी भएको सहायता सामाजिक सस्थाका कार्यक्रम संयोजक विशाल गौतमले बताउनुभएको छ । घर निर्माण गर्दा प्रति घर १ जनाले श्रमदान गरेको र स्थानीय स्तरमा उपलब्ध हुने सामाग्रीको प्रयोग गरिएको उहाँले जानकारीदिनुभएको छ । परिवार सङरख्या ३ जना भएको लागि २ कोठे र परिवार सङख्या ३ जना भन्दा बढी भएकालाई ३ कोठे घर गोलाप्रथा मार्फत छान्न लगाइ्एको थियो ।

एकिकृत बस्तिमा स्वच्छ खानेपानी र विजुली बत्तिको सहज उपलव्धता गराएर समुदायलाई हस्तान्तरण गरिएको सहायता सामाजिक सस्थाका कार्यकारी निर्देशक अञ्जली पाण्डेले जानकारी दिनुभएको छ ।

बस्ति हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले विस्थापित भएर एकिकृत बस्तिमा आएकाहरुलाई आयमुलक कार्यमा लाग्न आग्रह गर्नुभएको छ । उहाँले घरले मात्र जिविका नचल्ने भएकोले वरीपरीको जग्गा भाडामा लिएर भए पनि जिविको पार्जनमा लागेर भूकम्पले दिएको पीडालाई भुल्नुपर्ने बताउनुभएको छ ।

यस्तै विदुर नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले भाल्चेको नागरिकहरु नगरमा आएर बस्ति बसालेकोले उनीहरुलाई पनि आफ्नै नगरको नागरिक सम्झेर काम गर्ने बताउनुभएको छ । उहाँले एकिकृत बस्तिका नागरिकहरुलाई केही गाह्रो अप्ठ्यारो परेमा सहज रुपमा नगरपालिकामा समस्या राखिदिन आग्रह गर्नुभएको छ ।

बस्ति हस्तान्तरण कार्यक्रममा किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले संघसस्थाहरुलाई स्थानीय तहसँग सहकार्य गरेर अन्य आर्थिक उपार्जनको कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउनुभएको छ ।