“नुवाकोटको ऐतिहासिक महत्वलाई जोगाइ राखौँ”: वीरेन्द्रकुमार शाही

वडाअध्यक्ष, विदुर नगरपालिका वडा नं. २, नुवाकोट

वडा कार्यालयको गतिविधि कसरी अघि बढिरहेको छ ?

वडामा प्रशासनीक कर्मचारीको अभावको कारण काम गर्न समस्या रहेको छ । वडा नं. २ दुई वटा भुगोलमा फैलिएकाले दुवै ठाउँबाट वडाको नियमित काम गर्नुपर्ने वाध्यता रहेको छ । त्यसैले वडाको नियमित काम गर्न समस्या रहेको छ । दुई ठाउँमा सञ्चालन भइरहेका वडा कार्यालयलाई एकै ठाउँमा राख्नुपर्ने छ । मेरै कार्यकालमा नगरपालिकाबाट कार्यालय भवन निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढ्नेछ । मेरो कार्यकालमा वडालाई व्यवस्थित गर्ने काम सकिन्छ भन्ने लागेको छ । नगरपालिकाबाट आवश्यक बजेट राखेपछि सबै वडावासीको भेलाबाट एक ठाउँ निश्चित हुनेछ, त्यसपछि वडाको काम एकै ठाउँबाट हुन्छ ।

वडाको विकास निर्माणको काम कसरी अघि बढिरहेको छ ?

विदुर नगरपालिकाबाट गत वर्षसम्म ४० लाख रुपैयाँमात्रै बजेट हामीले प्राप्त गरेका थियौँ । ४० लाख रुपैयाँबाट खास के नै विकास हुन्छ र । तर, हामीले सीमित बजेटबाट पनि वडालाई देखिने खालका केही योजना अघि बढाएका छौँ । हामीले नुवाकोटको डाँडोमा खानेपानीको चरम अभावलाई मध्यनजर गर्दै डिपबोरिङबाट खानेपानी योजना सञ्चालन गर्न लागेका छौँ । त्यो पानी व्यवस्थि तगर्न सकियो भने नुवाकोटमा खानेपानीको समस्या हट्नेछ । डिपबोरिङबाट पानी डेढ इन्च पानी निस्किएको छ । पाँच वर्षसम्म सम्वन्धित कम्पनीले मर्मत सम्भार गरिदिनेछ । कम्तिमा १५–२० वर्षसम्म त्यो पानी निस्कन्छ भन्ने उसको भनाई छ । डिपबोरिङको लागि मात्रै ३५ लाख रुपैयाँ भन्दा धेरै खर्च लागेको छ । त्यसपछि अव ट्याङ्की बनाउने, धारा बनाउने काम बाँकी नै रहेको छ । यो योजनाको सबै लागत हिसाव गर्दा एक करोड जति लाग्छ होला ।

यो वर्षदेखि त बजेट पनि थप भएको छ, वडाको नयाँ योजना के छ ?

यो वर्षको बजेटबाट जम्मा १० वटा योजना सञ्चालन गर्ने भन्ने कुरा भएको छ । खानेपानी, सडक, मठमन्दिर यिनै विषयका योजना रहेका छन् । यस वर्षदेखि सरकारले तोके अनुसार नै नगरपालिकाले साना योजनालाई विस्तारै कम गर्दै देखिने खालका ठूला योजना निर्माणको अवधारणा अघि बढाएको छ । यो वर्षदेखि देखिने खालका योजना अघि बढ्छन् भन्ने मलाई लागेको छ ।

नुवाकोटमा सम्पदा गाउँ बनिरहेको छ ? किन आवश्यक प¥यो सम्पदा गाउँ ?

भुकम्पपछि नुवाकोटका संरचनामा ठूलो क्षति पुग्यो । २०२८ सालमा सदरमुकाम विदुर सरेपछि नुवाकोट ओझेलमा परेको छ । यस्तो अवस्थामा कुनै समय देशकै राजधानी भएको नुवाकोटको ऐतिहासिक महत्वलाई जीवन्त राख्नुपर्छ भनेर नै हामीले पुर्ननिर्माणमा सम्पदा गाउँको अवधारणा ल्याएका हौँ । यहाँ निर्माण हुने घरहरुलाई पूरानै शैलीमा निर्माण गरिनुपर्छ भनेर हामी योजनावद्ध रुपमा अघि बढ्यौँ । नुवाकोट सम्पदा गाउँ भनेर दर्ता ग¥यौँ, नुवाकोट सम्पदा गाउँ देशकै पहिलो गाउँ हो । अहिले सम्पदा गाउँको काम ५० प्रतिशत भन्दा धेरै भएको छ । बजार क्षेत्रका केही घरहरु सम्पदा गाउँका मोडेलमा निर्माण हुन सकेको छैन । सम्पदा वस्ती तयार भइसकेपछि हामीले यसलाई होमस्टेको रुपमा लगेर आन्तरिक र वाह्य पर्यटक तान्ने हाम्रो सोच हो । २०२८ साल भन्दा अघिको भन्दा पनि राम्रो र पर्यटकीय महत्व राखेको ठाउँको रुपमा विकास गर्न हामी लागेका छौँ ।

बजार क्षेत्रका घरलाई सम्पदा गाउँमा समेट्न कस्तो समस्या भएको हो ?

समस्या भन्दा पनि कुनै कुनै घरहरु सम्पदा गाउँ मोडेलको बनाऔँ भन्दा भन्दै पनि भैरवी टोलमा अलि अटेर गरेर आधुनिक शैलीका घर निर्माण भयो । अन्य टोलमा सम्पदा वस्तीकै मोडेलमा घर निर्माण भएको छ ।

नुवाकोट दरवार क्षेत्रका पुरातात्विक सम्पदा पुर्ननिर्माण कसरी हुँदैछ ?

साततले दरवार क्षेत्रमा अहिले चीन सरकारको सहयोगमा पुर्ननिर्माणको काम अघि बढेको छ । यो वर्षात्को समयलाई दरवारलाई ढल्न नदिनको लागि चीनले छाना राख्ने काम गर्दै छ । अहिले साततलेलाई टेका दिने र छाना हाल्ने काम भइरहेको छ । तलेजुमा पनि काम भइरहेको छ । हामी आशावादी छौँ, साततलेसहित गारदघर, तलेजुसहित सात वटा मन्दिरहरु चीन सरकारले चार वर्षको समयमा पुर्ननिर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । हामीले उनीहरुसँग समन्वय गरेर काम गरिरहेका छौँ । नुवाकोटमा खानेपानीको अभाव रहेको छ । खानेपानीको व्यवस्थापनको माग उहाँहरुको रहेको छ । हामीले त्यो पूरा गर्न सकेका छैनौँ डिपबोरिङको पानी उपलब्ध गराउने कार्यमा हामी लागेका छौँ । अनि बाटोको पनि समस्या रहेको छ । हामी नगरपालिकाका प्रमुखसँग बसेर यी समस्याको समाधान गर्न लागेका छौँ । भैरवी मन्दिरको पुर्ननिर्माण पुरातत्व विभागबाट भइरहेकाले पुर्ननिर्माणको अन्तिम चरणमा पुगेको छ ।

साततलेको छानोमा जस्ता लगाउने कुरा गर्नुभयो ? दरवार पूरै भत्काउने हो कि ? पूरानोलाई पुर्ननिर्माण गर्ने हो ?

मैले पाएको जानकारी अनुसार साततलेलाई रेक्ट्रोफिटिङ गर्ने हो । यसरी पुर्ननिर्माण गर्दा दरवार पहिलेको भन्दा पनि अझै बलियो हुन्छ भन्ने उनीहरुको तर्क रहेको छ । यसको पुर्ननिर्माणको काम पुरातत्व विभागदेखि सबैको समन्वयमा हुनुपर्छ र भइरहेको छ । आगामी जनवरी महिनादेखि साततलेले पुर्ननिर्माणले गति लिन्छ भनेर उहाँहरुले भन्नुभएको छ । अहिले पानी नचुहिने बनाउन लागिएको मात्र हो । भित्रभित्रै काम गरेर यसको पुर्ननिर्माण गर्ने कुरा छ ।

अहिले कति जनाले साततलेमा काम गरिरहेका छन् ?

चाइनिज इन्जिनियरसहित चार जना रहेका छन् । एक जना दोभासे पनि छन् । ६०, ७० जना मजदुरहरुले फलामको ट्रस राखेर घेराबन्दी गर्ने काम भइरहेको छ । साततले र तलेजु जोगाउने काम भइसकेको छ । अव यी दुई संरचना भत्कनबाट जोगिएको छ । आगामी जनवरीदेखि पुर्ननिर्माणले गति लिनेछ ।

तपाईको वडालाई नगरपालिकाको बजेट समानुपातिक रुपमा आएको छ कि छैन ?

वडाले प्राप्त गर्ने एक करोड रुपैयाँ बजेट सबैले प्राप्त गरेको छ । नगरपालिकाले गर्ने अन्य विकासका निर्माणका गतिविधि चाँही समानुपातिक छैन ।

अन्त्यमा नुवाकोटवासीलाई के भन्नुहुन्छ ?

नुवाकोट कुनै समय देशकै राजधानी अनि नुवाकोटको सदरमुकाम भएको ठाउँ । यो ठाउँको विकासको लागि हामी यहाँका वडावासी नै जागरुक हुने हो । नुवाकोट जागौँ ,नुवाकोट जुटौँ । हामी जागेमात्र हाम्रो अस्तित्व जोगिन्छ । नुवाकोटलाई सम्पदा गाउँ अभियानलाई समर्थकता दिऔँ । विकास निर्माण र पर्यटन विकासको लागि हातमालो गरेर अघि बढ्न वडावासीलाई आव्हान गर्दछु ।
प्रस्तुतीः भोलाराज पौडेल