घरमै पुगेर जेष्ठ नागरिक भत्ता

नुवाकोट । स्थानीय तहहरुमा जनताका लागि जिम्मेबार बन्नुभन्दा धेरै जनप्रतिनिधिहरुमा नै मनोमानी बढिरहेकोप्रति गुनासा र आलोचना भइरहेका बेला नुवाकोटका कतिपय स्थानिय तहमा भने नमूनाकै रुपमा काम भइरहेको देख्न पाइन्छ । जनतालाई गाउँ टोलबाटै दिइने व्यवस्था थालिएकोमा अहिले त्यतिमा मात्रै सीमित नभई नुवाकोटका कतिपय स्थानिय तहका जनप्रतिनिधिहरुले घर–घरमै सरकारी सेवालाई विस्तार गरिरहेका छन् ।

जिल्लाको विदुर नगरपालिका लगायतका केही स्थानिय तहका वडाहरुमा घर आँगनमै जनप्रतिनिधिहरु आफैँ उपस्थित भएर सेवा सुविधा दिन थालेका छन् । यसप्रकारको जनप्रतिनिधिको जवाफदेहिता देखेर स्थानिय जनतामा पनि आशा र उत्साह थपिएको मात्रै छैन सेवा घरमै पाएपछि सरकारको प्रत्यक्ष अनुभुतिसमेत गर्न पाएका छन् । विदुर नगरपालिका वडा नं ५ को कार्यालयले घर–घरमा पुगेर आफ्ना नागरिकको असहजता र समस्याको पहिचान गरी वडा कार्यालयबाट दिइदै आएको कतिपय सरकारी सेवा तथा सुविधा दिन थालेको हो । यो कार्य अहिले यहाँ लोकप्रिय कार्यक्रमको रुपमा जनस्तरबाट स्वावासी समेत बटुल्न सफल भएको पाइएको छ । यसबाहेक पञ्चकन्या गाउँपालिका वडा नं. १ मा पनि घरदैलोमै उपस्थित भई वडा कार्यालयबाट प्रवाह गरिनेमध्येका कतिपय सेवाहहरु दिन सुरु गरेको छ ।

विदुर नगरपालिका–५ को वडाले विविध समस्या र अवस्थाका कारण कार्यालयमा आइपुग्न नसक्ने अशक्त, वृद्धवृद्धा र अपाङ्ता भएका व्यक्तिहरुलाई त्यसवापतको भत्ता, आवश्यक सिफारिस, नागरिकता प्रमाणपत्र वितरण लगायतका सेवाहरु उपलब्ध गराउन सुरु गरेको छ । त्यसका लागि सेवा लिन आवश्यक व्यक्तिका परिवारले खबर गरेपछि वडाध्यक्षसहित कार्यालयका अन्य कर्मचारीहरु घरमै पुग्ने गरेका छन् । यस कार्यबाट स्थानिय मतदाताले छिटो छरितो र सर्वसुलभ ढंगले सेवा पाउनुका साथै आफुले मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिह जनताप्रति समर्पित भएकोमा खुशीको अनुभूति गर्ने अवसर पाउन भन्ने उद्देश्यले यस्तो अभियान थालनी गरिएको वडा अध्यक्ष शिवकुमार चित्रकारले बताउनुभयो । ‘जनतालाई विकास, निर्माण लगायत बिना झन्झट सेवा सुविधा दिने उद्देश्यस्वरुप देशको पुरानो संरचना परिवर्तन भएर नयाँ अभ्यासको थालनी भएको यसैको लागि हो’, वडा अध्यक्ष चित्रकारले भन्नुभयो–‘जनताका लागि सरकार छ भन्ने अनुभूति दिलाउने पहिलो दायित्व स्थानिय तहको भएकोले हामीले मत लिएर जनताका लागि जिम्मेवार भएर काम गर्ने र लाई अधिकारसम्पन्न बनाउने प्रतिवद्धता पुरा गर्नुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरेका हौँ ।’ घरआँगनमै उपस्थित भएर गरिने यस्ता कार्यले सरकारी सेवालाई प्रभावकारी र जनतालाई सहज ढंगले सुविधा मिल्ने उहाँको विश्वास छ ।

अहिले सुरुवातमा सामाजिक सुरक्षा भत्ता, एकल महिला, अशक्त र अपाङ्ग वापतको रकम वितरण थालिएको अध्यक्ष चित्रकारले जानकारी दिनुभयो । भत्ता वापतको रकम वडा भित्र रहेका अशक्त र बैङ्क सम्म जान नसक्ने अवस्थामा रहेका वृद्धवृद्धा, अपाङ्गता भएकाहरुलाई लक्षित गरिएको छ । जसका लागि जनता बैङ्क लिमिटेड बट्टार शाखाकोे सहकार्यमा यो कार्यक्रम भएको हो । एकवर्ष अघिदेखि नै सामाजिक सुरक्षा भत्ताको लागि सम्बन्धित व्यक्तिको खाता बैङ्कमा खोलेर खातामा नै वडा कार्यालयले रकम उपलब्ध गराउने गरेकोमा अबदेखि बैङ्क सम्म पुग्न नसक्नेहरुका लागि घरमा नै रकम उपलब्ध गराईएको अध्यक्ष चित्रकारले बताउनुभयो । सामाजिक उत्तरदायित्व अन्र्तगत उक्तकार्यमा बैङ्कले यो कार्यक्रम गरेको जनता बैङ्क बट्टारका प्रमुख प्रकाश श्रेष्ठले बताउनुभयो । भत्ता लिनकै लागि छोराछोरीले बैंकसम्मै बोकेर पु¥याउनुपर्ने पहिला झन्झट भएकोमा अहिले घरमै आएर वडा अध्यक्षले भत्ता उपलब्ध गराएकोमा विदुर–५ पिपलटारकी ८६ वर्षिय वृद्धा कुलदेवी गजुरेलले खुशी व्यक्त गर्नुभयो ।

‘हिँडडुल गर्न नसकेर थला परेको धेरै वर्ष भयो तर, भत्ताकै लागि धेरै कष्ठ गरी छोराहरुले बोकेर मुस्किलसँग सदरमुकाम जानुपर्दथ्यो’, गजुरेलले भन्नुभयो– ‘वडा कार्यालयले त अब घरमै ल्याइदिएर ठूलो धर्म गरिदियो । अब छोराछोरी र बुहारीलाई मात्र होइन, मलाई पनि हाइसन्चो नै भएको छ ।’ अध्यक्ष चित्रकारको अगुवाईमा वडा कार्यालयको यो अभियान थालनी भएपछि गजुरेल जस्तै वडामा रहेका अन्य वृद्धवृद्धा, शारिरिक अपाङ्गता भएका अशक्त व्यक्तिहरुलाई समेत सहज भएको छ । वडा अध्यक्ष चित्रकार भन्नुहुन्छ–‘आफ्नो वडाभित्रका वासिन्दा र जनप्रतिनिधि बिचको सम्बन्धलाई सुमधुर र नजिक सधैँ भएर काम गर्ने सरल माधयामको रुपमा यो कार्यक्रमलाई पहिलो प्राथमिकतामा लिएको छु ।’

यसैगरी, अपाङ्ग, अशक्त र जेष्ठ नागरिक मैत्री कार्यक्रम सञ्चालन गर्ने अभियानसहित पञ्चकन्या गाउापालिकाको वडा नं. १ कार्यालयले वृद्धवृद्धालाई घरदैलोमै स्वास्थ्य सेवाको पहुँच पु¥याउन लोकप्रिय कार्यक्रम सुरु गरेको छ । बुढापाका नागरिकहरु स्वास्थ्य संस्थामा जान नसक्ने र कतिपय घरपरिवारमा पनि स्वास्थ्य समस्या हुँदा हेरबिचार नपुग्ने समस्यालाई ख्याल गर्दै गाउंमा घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको वडाध्यक्ष मणिनाथ लामिछानेले जानकारी दिनुभयो ।