नुवाकोट पनि ‘प्याराग्लाइडिडङ जोन’


शिवपुरी /काठमाडौंबाट नजिकै रहेको नुवाकोटको शिवपुरीमा प्याराग्लाइडिङ सुरु भएको छ । राजधानी काठमाडौंबाट नजिकै रहेको शिवपुरीको सुइरेचौरमा प्याराग्लाइडिङको लागि अनुमति पाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हालै नुवाकोट र मकवानपुरमा प्याराग्लाइडिङको लागि अनुमति दिएको हो । काठमाडौंबाट नजिकै रहेको सुइरेचौरबाट सुरु हुने प्याराग्लाइडिङ सोही गापाको फेदीसम्म हुनेछ । प्राधिकरणले नेपाल प्याराग्लाइडिङ प्रालिलाई नुवाकोटमा प्याराग्लाइडिङ उडाउने गरी अनुमति दिएको हो । यस क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटसम्मको उचाईसम्म उडान गर्न सक्ने गरी उक्त कम्पनीले अनुमति प्राप्त गरेको छ ।

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको स्थानबाट नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, रसुवा लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । लाङटाङ, गणेश, मनासलु, जुगल हेलम्बु हिमालको दृश्य अवलोकन पनि प्याराग्लाइडिङबाट गर्न सकिने कम्पनीले जनाएको छ । प्यारागलाईडिङको परीक्षण उडान सफल भएसँगै प्राधिकरणसँग व्यवसायिक उडानको लागि प्रक्रिया पूरा भएकोले अव नियमित उडान हुने कम्पनीका प्रबन्धक निर्देशक ज्ञानभक्त डङ्गोलले बताए ।

सुईरेचौर शिवपुरी गाउँपालिकाको वडा नं. ७ मा पर्दछ । समुन्द्रसतहबाट १९०० मिटर उचाइमा रहेको यस क्षेत्रबाट थानापतिफाँटमा अवतरण हुने कम्पनीले जनाएको छ ।