नुवाकोट महोत्सवको तयारी पुरा

नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बद्र्धन–दीगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ बुधबार माघ १६ गतेबाट बट्टारमा शुरु हुने छैठौँ नुवाकोट महोत्सव तयारी पुरा भएको छ ।

बट्टारस्थित महोत्सव स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक ताराबहादुर कार्कीले महोत्सवको तयारी पुरा भएको बताउनु भएको हो ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरी सञ्चालन हुन लागेको महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनको लागि विशेष योगदान पुग्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

कार्यक्रमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले नुवाकोट महोत्सवले जिल्लामा धार्मिक, ऐतिहासिक, पर्यटकीय प्रवद्र्धनको साथमा व्यवसायिक विकासमा पनि योगदान पुग्ने बताउनुभयो ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटा, प्रवक्ता सविन राजभण्डारी लगायतले महोत्सव सफल बनाउन आग्रह गर्नु भएको थियो ।

बट्टारको बसपार्क क्षेत्रमा माघ १६ देखि २६ गतेसम्म हुन लागेको महोत्सवको उद्घघाटन पूर्वराष्ट्रपति डा रामवरण यादबले उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

महोत्सबमा एतिहासिक कला सस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक बिकासको लागी व्यवसायिक प्रबद्धन भन्ने नारा सहित पर्यटन, उद्योग, कृषिमा बिकास साथ आर्थिक समृद्धि र सामाजिक तथा साँस्कृतिक अधिकारको महोत्सबमा लोपोन्मुख भाषा, संस्कृति भेषभुषा, संस्थागत संरक्षण र ब्यबसायिक सुरक्षालाई विशेष महत्वको साथ प्रस्तुत गर्न लागिएको बताईएको छ ।

महोत्सवमा नुवाकोटका बिभिन्न समुदायले प्रयोग गर्ने भेषभूषा, भाषा, धर्म, सस्कृति, खाना, पहिरन, लवज, पर्व तथा चाड लगायतलाई समेत प्रस्तुत गर्न लागिएको छ । महोत्सबमा झाक्री सांस्कृतिक प्रदर्शनी, जिल्लास्तरीय नृत्य प्रतियोगिता, लोपोन्मुख बालन भजन तथा पञ्चे बाजा प्रतियोगिता राखिएको छ । कृषि तथा लघु उद्यम सामग्रीको बिक्रि अटोमोबाइल प्रदर्शनी तथा बिक्री, निःशुल्क स्वास्थ्य शिविर, धार्मिक संस्कृतिक पहिचान तथा अवलोकन, लोकदोहोरी प्रस्तुति, लोपोन्मुख सांस्कृतिक प्रदर्शनी साथै नेपालको चर्चित कलाकारहरुको साङगितिक प्रस्तुतीहरु रहने बताइएको छ ।