नुवाकोट महोत्सव सम्पन्न, ५ करोडको कारोबार


नुवाकोट, २७ माघ

छैठौँ नुवाकोट महोत्सव आज सकिएको छ । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बद्र्धन–दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराको साथ माघ १६ गते शुरु भएको महोत्सव आज सकिएको हो । माघ १६–२६ सम्म आयोजना गरिएको महोत्सव एक दिन थप गरिएको थियो ।

१२ दिनसम्म सञ्चालन भएको महोत्सवमा ६० हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु. ५ करोडको कारोबार भएको आयोजक नुवाकोट उद्योग वाणिज्य संघका प्रवक्ता सविन राजभण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा २ सय ५० वटा स्टल राखिएका थिए । महोत्सवमा राखिएको दैनिक उपभोग्य वस्तु, घरेलु उत्पादन र हस्तकलामा सामग्री राखिएका पसलहरुमा ग्राहकको भीड लागेको थियो ।

नेपाल भ्रमण वर्षलाई लक्षित गरी सञ्चालन हुन लागेको महोत्सवले नुवाकोटमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्राउनको लागि विशेष योगदान पुग्ने आयोजक नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताउनुभयो

महोत्सवको समापन समारोहमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले स्थायी सरकार भए पनि नागरिकहरुले समृद्धिको अभास नपाएको बताउनुभयो । उहाले दुई तिहाईको सरकारको दम्भको कारण नागरिकहरु नै आजित अवस्थामा पुगेको दावी समेत गर्नुभयो ।

नेता केसीले सडक र सदनसम्म सरकारको विरोधको क्रम बढेको र सरकारले स्वतन्त्र संवैधानिक अंगहरुमा समेत सरकारले हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभयो ।