नुवाकोटमा निजी आवास पुननिर्माण सन्तोषजनक, ८० प्रतिशत निर्माण सम्पन्न

गमला लामा/विदुर, नुवाकोट

नुवाकोटमा निजी आवास पुननिर्माणको काम धमाधम भइरहेको छ । अहिले लगभग अन्तिम चरणमा पनि पुगेको छ । नुवाकोटमा पुननिर्माणको काम सन्तोषजनक रहेको जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्बाधार कार्यलयका निमित्त आयोजना प्रमुख शम्भुकुमार शाहले बताए । “निजी आवास पुननिर्माणको काम धमाधम भइरहेको छ । अधिकांशले घर बनाइसकेका छन् । ८० प्रतिशतले त निर्माण सम्पन्न गरी तेश्रो किस्ता रकम समेत लिइसके । दोश्रो किस्ता लिएर घर निर्माणको अन्तिम चरणमा रहेकाहरु पनि धेरै छन्” निमित्त आयोजना प्रमुख साहले भने ’नुवाकोटमा निजी आवास पुनर्निमाणको तथ्यांक अन्य जिल्लाको तुलनामा राम्रो रहेको छ ।’

कार्यलयले दिएको जानकारी अनुसार नुवाकोटमा निजी आवास निर्माण गर्ने कार्य ८८ प्रतिशत सम्पन्न भएको छ । २०७२ सालको भुकम्पको कारण क्षति पुगेका वा भत्किएका निजी आवासको पुननिर्माणको कार्य अन्तिम चरणमा सञ्चालन भइरहेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको भनाई छ । जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानी पूर्बाधार कार्यलयले दिएको जानकारी अनुसार नुवाकोटमा रहेको ७७ हजार ३ सय ८५ लाभग्राही मध्ये ६२ हजार ५ सय ८९ लाभग्राहीले तेश्रो किस्ता प्राप्त गरिसकेका छन् । घर निर्माण सम्पन्न भए पछि मात्रै तेश्रो किस्ताको रकम प्रदान गरिन्छ । हाल सम्म ८०.०९ प्रतिशतले तेश्रो किस्ता लिइसकेका छन् । निजी आवास पुननिर्माणको काममा सबै भन्दा अघि दुप्चेश्वर गाउँपालिका रहेको छ । दुप्चेश्वरमा निजी आवास निर्माण ९०.९ प्रतिशत सम्पन्न भएको छ भने सबै भन्दा कम बेलकोटगढी नगरपालिका रहेको छ । बेलकोटगढी नगरपालिकामा निजी आवास पुननिर्माण कार्य ७१.३ प्रतिशत सम्पन्न भएको छ । कार्यलयको तथ्याकं अनुसार ७७ हजार ३ सय ५८ सय मध्ये पहिलो किस्ताको रु. ५० हजार लैजानेको संख्या ७४ हजार १ सय ३४ छन् भने दोश्रो किस्ता ७० हजार ४ सय ९४ जनाले लगेका छन् ।

तेश्रो किस्ता वा घर निर्माण सम्पन्न पछि प्राप्त हुने अनुदान रकम ६२ हजार ५ सय ८९ जनाले प्राप्त गरिसकेका छन् । जिल्लामा पालिका अनुसार दुप्चेश्वर गाउँपालिका पुननिर्माणमा अग्रस्थानमा रहेको छ । दु्प्चेश्वरमा रहेका ५ हजार ८ सय ६० लाभग्राहीमा ९०.९ प्रतिशत अथार्त ५ हजार ३ सय २९ जना लाभग्राहीले घर निर्माण सम्पन्न गरी अन्तिम किस्ता लिइसेका छन् । म्यागङ्घ गाउँपालिकामा ४ हजार ७ सय ४३ लाभग्राही मध्ये ४ हजार १ सय ३ अर्थात ८८.९ प्रतिशतले तेश्रो किस्ता लिइसेका छन् । किस्पाङ गाउँपालिकामा ४ हजार ८ सय २ लाभग्राही ४ हजार २ सय ३५ जना अर्थात ८८.२ प्रतिशतको घर निर्माण सम्पन्न भइसकेको छ । यस्तै, पञ्चकन्याँमा ४ हजार ४ सय ९८ लाभग्राही मध्ये ३ हजार ७ सय ८७ अर्थात ८४.२ प्रतिशत, तादीमा ४ हजार ६ सय ७६ लाभग्राहीमा ४ हजार ७६ अर्थात ८७.२ प्रतिशतले घर बनाइसकेका छन् । तारकेश्वरमा ४ हजार ५ सय २२ लाभग्राहीमा ४ हजार ३ अर्थात ८८.५ प्रतिशत, सुर्यगढी गाउँपालिकामा ५ हजार २ सय ९२ लाभग्राहीमा ४ हजार ३ सय ७४ अर्थात ८२.७ प्रतिशत, शिवपुरी गाउँपालिकामा ६ हजार ८ सय १ मध्ये ५ हजार २ सय ६९ अर्थात ७८.९ प्रतिशतले निजी आवास पुननिर्माण गरी तेश्रो किस्ता लिइसकेका छन् ।
यस्तै, लिखु गाउँपालिकामा ५ हजार १ सय ८८ लाभग्राही मध्ये ४ हजार ४१ अर्थात ७७.९ प्रतिशतले, ककनी गापामा ६ हजार ८ सय ७१ मध्ये ५ हजार ५ ३ सय ७२ अर्थात ७८.२ प्रतिशत, बिदुर नगरपालिकामा १३ हजार १ सय ४३ लाभग्राही मध्ये १० हजार ८६ अर्थात ७६.७ प्रतिशत र बेलकोटगढी नपामा ११ हजार ८२ लाभग्राही मध्ये ७ हजार ९ सय ४ अर्थात ७१.३ प्रतिशतले घर बनाइसकेका छन् ।

जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ्घले निजी आवास पुननिर्माणको काम तोकिएको समयमा पुरा गराउनको लागि कार्यलयले अझै सक्रियता देखाउन पर्ने बताउछन् । यस्तै, सांसद नारायण प्रसाद खतिवडाले पुननिर्माणको कार्यलाई थप तिब्रता दिएर तोकिएको समयमा सम्पन्न गारउनको लागि सरोकारवालाहरुलाई आग्रह गरेका छन् । उनले अझै पनि भाबनामा बगेर पुरानो तस्बिर देखाएर पुननिर्माण बाकी छ भन्दै गुनासो गर्न नहुने बताए । उनले सधै भरी पुननिर्माणको कामलाई थाती नराखी काम गरी सम्पन्न तिर लैजानु पर्ने बताए ।
प्रदेश सभा सदस्य हिरानाथ खतिवडा पुननिर्माणलाई सम्पन्न गराई मानिसहरुलाई दैनिकी नियमित तर्फ लैजान ढिला भएको बताउछन् । नुवाकोटको पुननिर्माणको लागि २६ अर्ब ४९ लाख ३४ हजार बिनियोजन भएकोमा १९ अर्ब २० करोड ३४ लाख रुपैयाँ खर्च भएको आयोजनाका निमित्त प्रमुख शाहले जानकारी दिए । नुवाकोटमा भुमिहिनहरुलाई पनि जग्गा खरिद गरी घर बनाउने कार्य भइरहेको छ । भुमिहिन लाभग्राही २५८ जना मध्ये १२९ जनाले जग्गा प्राप्त गरी घर निर्माण गर्न थालेका छन् भने ४८ जनाले घर निर्माण सम्पन्न गरिसकेका छन् । जोखिम युक्त बस्तिमा ३ सय ४६ लाभग्राही मध्ये २१६ जनाले जग्गा प्राप्त गरिसकेका छन् । यसमा पनि १ सय ३० जनाले घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता लिइसकेका छन् ।

नुवाकोटमा निजी आवास पुननिर्माणमा एक कोठे घर पनि धेरै मात्रामा रहेको विभिन्न संघ संस्थाहरुको अनुगमनमा फेला परेको छ । अनुदानको घर एक कोठे निर्माण गरेर भूकम्पको जोखिम भएको पुरानो घरमा बस्नेहरु पनि अझै छन् । यसलाई रोक्नको लागि सरोकारवालाहरुको ध्यान जानु आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित बताउछन् । त्यस्ता घरका र अधिकांश एक कोठे घरका लाभग्राहीहरु पुरानो क्षतिग्रष्त संरचना मै दैनिकी चलाउदै आएको अध्यययनमा संलग्नहरुले बताएका छन् । जुुन घरका एउटा आट बाहेक अर्को केही पनि अटाउने अबस्थामा छैन त्यस्ता लाभग्राहीहरु अहिले पनि भूकम्पबाट पुर्णरुपमा क्षति भएको अनि प्रमाणित गरिएको र सोही बापत राहत स्वीकार गरिएको क्षति ग्रस्त घरमै आफ्नो दैनिकी चलाउदै आएको पाइन्छ । यस्तै, नुवाकोटमा विभिन्न संघ संस्थाको सहयोगमा एकीकृत बस्तीहरु बनेका छन् । तर, यी बस्तिका घरहरु पर्याप्त नहुदा कतिपय स्थानमा भुकम्प पीडितहरु जोखिमयुक्त भनेको थलोबाट सरेका छैनन् ।
त्यसैले पछिल्लो समयमा भूकम्प प्रतिरोधी संरचनाहरू बनाउनुपर्छ भन्ने चेतनाको स्तर निकै बढेको छ । अब पुराना कमजोर संरचनाहरूको प्रबलीकरण गर्दै नयाँ बन्ने सबै संरचना भूकम्प प्रतिरोधी बनाउने कार्यलाई तीव्रता दिन जरुरी रहेको छ ।