सलहका कुरा

सुदेश सुवेदी

सलह फट्यांग्रा प्रजातिको एक शाकाहारी किरा हो । बाहिरी रुपमा फट्यांग्रा भन्दा बलिया र ठूला देखिन्छन् । भाले सलह करिव ३५–५० मिमि र पोथी ४५–६० मिमिसम्मको हुन्छ । वयस्क सलह पहेलो रंगको भएता पनि हरियो खैरोफुस्रो रंगमा पनि भेटिन्छन् । पखेटा भने रंगविहिन हुन्छ । सामान्यतया फट्यांग्रा प्रजातिको किरा एकान्तमा बस्न रमाउँछन् । चर्को खडेरीसंगैको घनघोर वर्षा र प्रयाप्त हरियाली अर्थात् अनुकुल वातावरण भएपछी सलहको स्नायु प्रणालीमार्फत सेरोटिन नामक हर्मोन निस्कन्छ जसले गर्दा सलहले पागल जसरी अण्डा पार्न थाल्छ । जसले गर्दा अत्याधिक मात्रामा सलहको संख्या बढ्न थाल्छ । जबखाने कुराको अभाव हुन्छ तब फेरोमोनमार्फत झुण्ड बनाई उड्न थाल्छ । सलह झुण्डमा लाखौँदेखि करोडौसम्म सलह हुने गर्दछ ।

एक सलह झुण्डले दिनमा २० माइल यात्रा गर्ने गर्छ र एउटा सलहले एक दिनमा आफ्नो तौल बराबरको अर्थात् २ ग्रामखाने गर्दछ । एक झुण्डले एक दिनमा ३५ हजार मान्छेलाई खान पुग्ने खाद्यान्न नष्ट गर्दछ । यसले आफ्नो बाटोमा आउने सबै हरियाली नष्ट गर्ने गर्दछ । खाध्य एवम् कृषि संगठनको अनुसार सलहको कारण ५०–८० प्रतिशतसम्म खाद्यान्न उत्पादनमा ह्रास आउँछ । तसर्थ सलह नियन्त्रण गर्न नसकेको खण्डमा खाद्यान्न संकट पर्ने निश्चित देखिन्छ । भुईघाँस डाले घाँस सबै नस्ट गर्ने हुनाले पशुचौपाया उत्पादनमा गिरावट आउनेछ । जसले गर्दा हाम्रो जस्तो ६५ प्रतिशत जनता कृषिमा निर्भर राष्ट्रलाई ठूलो आर्थिक क्षति हुन जाने देखिन्छ । भोकमरी, गरिबीजस्ता दीर्धकालिन समस्या उत्पन्न हुन् सक्नेछ । राज्यको तिनैवटा तहबाट सलह नियन्त्रणमा ठोस कदम चाल्नु पर्ने देखिन्छ ।

हालसालै नेपालको विभिन्न जिल्लाहरुमा सलह देखिनुले हामीमाथी चुनौती थपिएको छ । अहिले देखिएको झुण्ड सानो र तत्कालिन असर कम भएता पनि दीर्घकालिन रुपमा यसले असर देखाउन सक्नेछ । वर्षा ऋतुको अन्त्य अर्थात् भाद्र महिनामा अत्याधिक चर्को घाम र ठूलो वर्षा हुने जसले गर्दा सलहलाई अनुकुल वातावरण भई हाल देखिएको सलहले सन्तान वृद्धि गर्न सक्ने सम्भावना हुन सक्छ । नदी किनार र बलौटे माटो भएको ठाउँ सलाहलाई प्रजनन् अर्थात् फूल पारी सन्तान वृद्धि गर्ने उत्तम ठाउँ बन्न सक्छ । खाध्य सुरक्षाको हिसाबले न्यून स्थानमा रहेको नेपालसंगै कोरोना महामारीसँग गुज्रिरहेको अबस्थामा ठूलो दुर्घटनातर्फ जाने देखिन्छ । बेलामै सलह नियन्त्रण हुन जरुरी छ ।

सलह नियन्त्रण गर्ने विभिन्न उपायहरु छन् । आगो बालेर, धुँवामण्डल बनाएर, ठूलो स्वरले गीत तथा मेसिन बजाएर सलह झुण्डलाई भगाउन सकिन्छ । विभिन्न प्रकारको नेट, झुल प्रयोग गरेर सलहको क्षति न्यूनीकरण गर्न सकिन्छ । थोरैमात्रै सलह भए त्यसलाई हातले मारेर पनि नियन्त्रण गर्न सकिन्छ । फेनितोरिओन , मलाथाइनजस्ता विषादी प्रयोग गरेर सलह न्यूनीकरण गरेको देखिएको छ । ठूलो झुण्ड भएको खण्डमा हवाई जहाजबाट विषादी छर्केको पनि देखिएको छ । यसो गर्नाले जमीन, वायुमण्डल र जलमण्डल सबै प्रदुषित बनाउने निश्चित छ । मानिस, जनवार, चराचुरुंगी र मित्र जीवलाई असर गरी समग्र पारिस्थितिक पद्दतिलाई नै बिगार्ने निश्चित छ । यसको विकल्पको रुपमा निमकेक, निमओइल, निममा आधारित विषादी एवम् गीतिमल प्रयोग गर्न सकिन्छ ।INTEGRATED CROP CUM DUCK FARMINGअर्थात् एकीकृत बाली एवम् हास, कुखुरापालल गर्न सकिन्छ । मेक्सिकन सयपत्री (Tagetesminuta) लाई जमीन वरीपरी बोर्डरको रुपमा लगाएर नि सलह केहि हिसाबमा रोक्न सकिन्छ । साथै, अफ्रिकन राष्ट्रहरुमा प्रयोग भएको गिरिनमस्कल नामक जैविक बिषादी प्रयोग गर्न सकिन्छ । मेतराइहिएमअनिसोप्लीय (Metarhiziumanisopliae/ Beauveriabassiana) नामक जैविक बिषादी ३५०–५५०ग्राम प्रति रोपनी प्रयोग गर्न सकिन् । यसले सलह नियन्त्रण गर्नुकोसाथै वातावरणमा केहि नकारात्मक असर गर्दैन । हामी सबै मिलेर सलह नियन्त्रण गर्नु जरुरी छ ।

(लेखक बालीविज्ञान विषयका स्नातक हुन् ।)
–पन्चकन्या –४, नुवाकोट